२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल दोस्रो चरणमा

दीपा शाहीको गोललयले निरन्तरता पाउँदा नेपाल शतप्रतिशत नतिजासहित एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा नेपालले आइतबार नर्दन मारियाना आइल्यान्डलाई ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो। यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६–० ले नै हराएको थियो। नर्दन आइल्यान्डलाई पहिलो खेलमा प्यालेस्टाइनले ३–१ ले हराएको थियो।

लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा एक गोल थपेको हो। दीपा शाही र सारा वज्राचार्यले समान दुई÷दुई गोल गर्दा एक गोल सरस्वती हमालको नाममा रह्यो। यस्तै दोस्रो हाफको इन्जुरी समयमा जेनिफर रानाले गोल गर्दै ६–० को जित निश्चित गरेकी थिइन्।

यसअघि सुरुआतबाट नै दबाब दिएर खेलेको नेपालका लागि दीपा शाहीले चौथो मिनेटमा अग्रता दिलाएकी थिइन्। त्यसको दुई मिनेटपछि सारा वज्राचार्यले गोल गर्दा नेपालको अग्रता २–० मा पुगेको थियो। सरस्वती हमालले १९औं मिनेटमा टोलीका लागि तेस्रो गोल थप्दा सरस्वती हमालले नै ३०औं मिनेटमा चौथो गोल थपिन्। पहिलो हाफको अन्तिम मिनेटमा साराले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ५–० को अवस्थामा पुगेको थियो।

यससँगै समूह ‘बी’ मा रहेको नेपालले २ खेलबाट ६ अंक बनाएको छ। दोस्रो चरणका खेल जुन ३ देखि १६ सम्म हुनेछन्। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यु–२० महिला एसियन कप खेल्नेछ। प्रतियोगिताको पहिलो चरणमा ३१ राष्ट्र सहभागी छन्। सन् २०१९ को यु–१९ एसिया कप च्याम्पियनसिपको शीर्ष ३ मा रहेका जापान, उत्तर कोरिया र दक्षिण कोरिया भने स्वतः प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भइसकेका छन्। आयोजक उज्बेकिस्तान पनि प्रतियोगिताका लागि छनोट भैसकेको छ।

प्रतियोगितामा सहभागी ३० टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। जहाँ समूह ए, सी, डी, इ, एफ र जी मा समान चार र बी तथा जी मा तीन टोली सहभागी छन्। प्रत्येक समूहको विजेताले दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछ। छनोट भएका आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहको विजेता र उपविजेताले उज्बेकिस्तानमा २०२४ मा हुने एएफसी यु–२० महिला एसियन कपमा प्रतिस्पर्धा गर्नेछ।  

प्रकाशित: २९ फाल्गुन २०७९ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App