विराटनगरमा अयोजित दोस्रो इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ। नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगर–६ केशलिया स्थित खेलमैदानमा शनिबार भएको फाइनल खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७१ रनको स्कोर बनाएको थियो । सिरहाकी शोभा शर्माले सर्वाधिक १० रन बनाइन्। अरु ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। मोरङकी टिका साहले ४ ओभरमा १० रन दिएर ५ विकेट लिँदा खुशी राजवंशीले १ विकेट लिइन्।
७२ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १० .ओभर १बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङकी टिका साह सर्वाधिक ३३ रनमा नटआउट भइन् । सिरहाकी अर्चना महतोले सर्वाधिक २ विकेट लिइन् । फाइनल खेलको वुमन अफ द फाइनल मोरङकी अलराउण्डर खेलाडी टिका साह घोषित भइन् । वुमन अफ सिरिज मोरङकी कप्तान सानु राजवंशी भइन्। सानु प्रतियोगिताको उत्कृष्ट ब्याटर समेत भइन् । उत्कृष्ट बलर सिरहाकी चन्द्रीका साह र प्रतियोगिताको उदयमान खेलाडी मोरङकी पूर्णीमा राजवंशी घोषित भइन्।
विजयी तथा अन्य खेलाडीलाई आइसिसिको टुइठर प्रशिक्षक सारा वेग, एमसिसि फाउण्डेसन इंग्ल्याण्डका एन्गुइस वेरी, क्रिकेट विथ बाउण्ड्रीज इंग्ल्याण्डका प्रमुख लि बुथ, तत्कालिन पूर्वाञ्चल क्रिकेट विकाश सिमितको उपाध्यक्ष नन्दु राठी, आयोजकका अविशेक श्रेष्ठ र नेपालकी कप्तान रुविना क्षेत्रीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे। फागुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी र मधेश प्रदेशका चारवटा टिम सहभागि थिए।
प्रकाशित: २७ फाल्गुन २०७९ १९:२० शनिबार