३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

बगरफाँटमा खेल मैदान

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाले २२ लाख रुपैयाँमा खेल मैदान निर्माण गरेका छन्। सदरमुकाम बेनी बजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदको माध्यमद्वारा गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने उद्देश्यले सो खेल मैदान बनाएका हुन्।

 युवाकै अगुवाइ र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र सय मिटर लम्बाइको खेल मैदान निर्माण भएको हो।सो खेल मैदानमा आगामी चैत २८ गतेदेखि  एक लाख रुपैयाँ पुरस्कार राशिको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवा क्लब बगरफाँटका अध्यक्ष सुनिल थापाले बताए।

२०७५ सालमा पाँच लाख रुपैयाँ, २०७६ सालमा सात लाख रुपैयाँ र २०७७ सालमा १० लाख रुपैयाँ बजेट बेनी नगरपालिका र प्रदेश सरकारबाट माग गरी खेलकुद मैदान निर्माण गरिएको हो। सोही खेलकुद मैदानलाई अहिले युवाले श्रमदान र देश विदेशमा रहेका व्यक्तिबाट सहयोग उठाइ पाँच लाख रुपैयाँ खर्च गरेर व्यवस्थित बनाएका छन्।

चैत २८ गते हुने फुटबल प्रतियोगिताका लागि यहाँका युवा एक महिनाअघिदेखि नै तयारीमा जुटेका छन्। फुटबल प्रतियोगितामा करिब आठ लाख रुपैयाँ खर्च हुनेछ। ‘मैदानको स्तरोन्नति गर्ने र आर्थिक स्रोत जुटाउने अभियानमा छौं, सबैतिरबाट सहयोग प्राप्त भइरहेको छ’, अध्यक्ष थापाले भने, ‘खेलकुदको माध्यमद्वारा हामीले समाजलाई सङ्गठित बनाउने र देश विदेशमा चिनाउने लक्ष्य लिएका छौं।’

‘हामीलाई विदेशमा रहेका अग्रज दाइहरू र साथीहरूबाट आवश्यक सहयोग र मार्गदर्शन प्राप्त भइरहेको छ, उहाँहरूको साथ र सहयोगले नै हामीमा केही गरौं भन्ने भावना विकसित भएको हो’, रिभरसाइड युवा क्लबका सल्लाहाकार एवं बगरफाँटका सक्रिय युवा नारायण थापाले बताए। बगरफाँट खेलाडीको गाउँ पनि हो। यहाँका युवा जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हुँदै आएका छन्।

गत माघ दोस्रोे साता पोखरामा सम्पन्न दुई वटा फुटसल प्रतियोगितामा यहाँको रिभरसाइड क्लबले प्रथम र द्वितीय स्थान प्राप्त गर्दै एक लाख ५० हजार रुपैयाँ पुरस्कार जितेको थियो।

अविनाश तामाङ पे्रसिडेन्ट दोस्रो केआइसी पोखरा फुटसल टुर्नामेन्टमा रिभरसाइड बगरफाँट युवा क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो। पोखरा र पोखरा बाहिरका गरी २२ टिम सहभागी प्रतियोगितामा रिभरसाइड बगरफाँट युवा क्लब प्रथम हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको सचिन कार्कीले बताए।

पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो। विभिन्न २४ टिम सहभागी उक्त प्रतियोगितामा दोस्रो भएको क्लबले ५० हजार रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरेको हो।

जिल्ला स्तरमा हुने कुनै पनि प्रतियोगिताबाट रित्तो हात फर्किन नपरेको क्लबका सचिव कार्कीले बताए। पछिल्लो समय बगरफाँटका युवा संगठित भई खेलकुद, सामाजिक र जनचेतनामूलक काममा लागेका छन्। यहाँका युवाले कोरोना कालमा घरघरमा पुगेर औषधि, मास्क, स्यानिटाइजर लगायतका सामग्री वितरण गर्ने काम गरेका थिए। रासस

प्रकाशित: २७ फाल्गुन २०७९ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App