२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इटहरी गोल्डकप चैत ४ गतेदेखि

१३औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल चैत ४ गतेदेखि हुने भएको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप एक सातासम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो। इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउने प्रतियोगिताका संयोजक अनुरोध थापाले जानकारी दिए।  

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रूपैयाँ प्रदान गरिनेछ। विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार पाउनेछन्। प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई प्रतिम्याच नगद २० हजार तयारी खर्चसमेत उपलब्ध गराइनेछ। सहभागी प्रत्येक खेलाडीलाई दैनिक १ हजार ५ सयका दरले भत्ता उपलब्ध गराइने आयोजकले जनाएको छ।  

इटहरी उपमहानगरपालिकाको संयोजन रहेको प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, चर्ज ब्वाइज, मच्छिन्द्र क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, रोलिङ क्लब झापा, डिफेन्डिङ च्याम्पियन सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लब गरी १० टोलीको सहभागिता रहनेछ।

इटहरीमा आठौं संस्करणसम्म स्वर्गीय दानवहादुर फुयँल स्मृति गोल्डकप फुटबल प्रतियोगिता भएको थियो। दानबहादुर फुयँल गोल्डकपलाई परिमार्जन गरी त्यसपछिका केही वर्ष मदन भण्डारी गोल्डकप भयो। पछिल्लो समय इटहरी गोल्डकपका रूपमा खेल हुँदै आएको छ।  

प्रकाशित: २७ फाल्गुन २०७९ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App