२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजन लिग फुटबल: जावलाखेल र आर्मी विजयी

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो। यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरायो। यसअघि जावलाखेलले पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गरेको थियो।

जाउलाखेलको जितमा कप्तान सीमान्त थापा र विदेशी खेलाडी फोडे फोफानाले समान एक–एक गोल गरे। यता एनआरटीका लागि भने सञ्जीव विष्टले एक गोल फर्काए। खेलको ६८औँ मिनेटमा सीमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको ७७ औँ मिनेटमा फोफानाले गोल गरेपछि जावलाखेलले २–० गोलअन्तरको अग्रता बनायो।

त्यस्तै खेलको ८०औँ मिनेटमा एनआरटीका सञ्जीवले गोल गरे पनि जावलाखेल २–१ ले विजयी भयो। जितसँगै जावलाखेलले दुई खेलमा छ अङ्क जोडेको छ। एनआरटीको भने यो लगातार दोस्रो हार हो  पहिलो खेलमा एनआरटी सातदोबाटो युथ क्लबसँग पराजित भएको थियो।

यसैगरी सातदोबाटोस्थित च्यासल खेलमैदानमा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ। आर्मीले मच्छिन्द्रलाई २–० ले पराजित गरेको हो। आर्मीको जितमा दीपक गुरुङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे।   

खेलको ४८ औँ मिनेटमा दीपकले हेडरमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको ५९ औँ मिनेटमा नवयुगले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई २–० को सहज जित दिलाए। यस जितसँगै आर्मीले दुई खेलमा चार अङ्क जोडेको छ। आर्मीले पहिलो खेलमा सङ्कटा क्लबसँग बराबरी खेलेको थियो।

प्रकाशित: २५ फाल्गुन २०७९ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App