२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मधुवनका कृष्ण घिमिरे युक्रेनी सेनाको कब्जामा

प्रजिअसँग कुरा गर्दै युक्रेनमा युद्ध बन्दी रहेका कृष्णबहादुर घिमिरेकी पत्नी जानुका । इन्सेटमा घिमिरे ।

रुसी सेनामा भर्ती भएका बर्दिया मधुवनका एक युवा युक्रेनी सेनाको कब्जामा परेको खुलेको छ। मधुवन नगरपालिका –९ का ४८ वर्षीय कृष्णबहादुर घिमिरे क्षेत्री २३ दिनदेखि युक्रेनी सेनाले युद्ध बन्दी बनाएर राखेको खुलेको हो। घर परिवारको सम्पर्कभन्दा बाहिर रहेका घिमिरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि युक्रेनी सेनाले बन्धक बनाएको तथ्य खुलेको छ । 

युक्रेनी सेनाको बन्धक रहेका घिमिरेले हिन्दीमा रुसी सेनाका उच्च अधिकारीले अत्यधिक पीडा दिने गरेको उल्लेख  गर्दै रसियन सेनामा कोही पनि भर्ती नहुन आग्रह गरेका छन्। युक्रेनी सेनाले रेकर्ड गराएको उक्त भिडिओमा आर्थिक प्रलोभनमा परी भारत र नेपालका धेरै युवा रुसी सेनामा भर्ती भएको भन्दै ज्यानको जोखिम राखेर भर्ती हुन नआउन घिमिरेले आग्रह गरेका छन् । 

रुसी सेनामा कार्यरत नेपालीले युक्रेनी सेनाको कब्जामा रहेका घिमिरेको उक्त भिडिओ घर परिवारलाई उपलब्ध गराएपछि परिवार तनावमा परेको छ । पारिवारिक स्रोतका अनुसार युक्रेनी सेनाले रुसी सेनाका कमान्डरलाई समेत बन्धक बनाएको भिडिओ पठाएका छन् । 

दुबईमा सेक्युरिटी गार्डमा घिमिरेले दुई वर्ष  काम गरेका थिए । रुसी सेनामा आकर्षक तलब रहेको भन्दै उनी एक वर्षदेखि घिमिरे रुसी सेनामा गएका थिए ।  युक्रेनी सेनासँग भिडन्तमा जानुअघि र फर्केर सेल्टरमा पुगेपछि घरपरिवारसँग कुरा गर्दै आएका उनी पछिल्लो २३ दिनयता सम्पर्कमा नरहेको पत्नी जमुना क्षेत्रीले बताइन् । 

‘लडाइँमा जाँदा १५ दिन, धेरैमा २० दिन सम्पर्कमा आउनु हुन्थेन,’ उनले भनिन्,‘यो बेला २३ दिन सम्पर्कमा नआएको भयो । सम्पर्कमा नआएपछि केही भयो कि भन्ने शंका थियो । अहिले उता कब्जामा रहेको भिडिओ आयो ।’ 

युद्ध वन्दी रहेको भिडिओ प्राप्त भएपछि परिवार उद्धारको पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मासमक्ष पुगेका छन् । ‘कमाएर खुवाउने उहाँलाई आज समस्या पर्‍यो । उद्धारका लागि पहल गरिदिन सिडिओकहाँ निवेदन, भिडिओ र ठेगाना उपलब्ध गराएको छु,’ घिमिरेकी पत्नी क्षेत्रीले बताइन् । 

यता उद्धारका लागि विद्युतीय माध्यमबाट कन्सुलर विभाग र परराष्ट्र मन्त्रालयमा विवरण पटाइसकेको प्रजिअ शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘परराष्ट्रमा रहेको सम्बन्धित विभागमा सम्पर्क भइसकेको छ । विभागमा उपलब्ध नामहरूमध्ये घिमिरेको नाम आएको छैन । भर्खरै कब्जा गरेको भएकाले नाम नआएको हुनसक्छ।’

प्रकाशित: २० आश्विन २०८१ १६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App