दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट २०२३’ प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा सुरु भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित प्रतियोगिता बुधबारदेखि सुरु भएको हो।
नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया स्थित मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको उद्घाटन खेलमा मोरङ र सिरहा विजयी भएका छन्।
पहिलो खेलमा मोरङले गण्डकी प्रदेशको एमसिसि महिला–११ लाई १ सय ४ रनको अन्तरले पराजित गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित १६ ओभरमा २ विकेट गुमाई १ सय ४९ रनको स्कोर बनाएको थियो। मोरङकी वुमेन अफ द म्याच सोनु राजवंशीले ३१ रन बनाउँदा टिका साहले अविजित ३० रन, पूर्णिमा राजवंशीले २४ रन र सृजना राजवंशीले अविजित २१ रनको योगदान दिइन्। एमसिसिकी सुशीला तामाङ र एलिना गोतामेले १–१ विकेट लिइन्।
१ सय ५० रनको लक्ष्य पछ्याएको एपसिसिले १३ दशमलव १ ओभरमा ४५ रनमा अल आउट भयो। सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन्। मोरङकी कप्तान सानु राजवंशीले २ विकेट लिँदा खुसी राजवंशी र वेदिका राजवंशी २–२ विकेट लिइन्।
दोस्रो खेलमा सिरहाले सप्तरीलाई २ रनले पराजित गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १२ रनको स्कोर बनाएको थियो। सिरहाकी चन्द्रीका साहले ३१ रन अजमेरी खातुनले १२ रन बनाइन्। सप्तरीकी बन्दना रजकले ३ विकेट लिँदा साक्षी यादवले २ विकेट लिइन्।
१ सय १३ रनको लक्ष्य पछ्याएको सप्तरीले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय १० रनमा सीमित भयो। सप्तरीकी बन्दना रजकले १३ रन बनाउँदा दिपिका पंशिले अविजित १२ रन, साक्षी यादवले १२ रन र सुस्मीता यादवले पनि १२ रन बनाइन्। सिरहाकी वुमेन अफ म्याच चन्द्रीका साहले ४ विकेट लिँदा रोशनी साहले २ विकेट लिइन्। फागुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहा तथा गण्डकी प्रदेशबाट एमसिसि–११ सहित ४ टिम सहभागी रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले बताए। लिगको आधारमा खेलाइने सो प्रतियोगितामा टप दुई टिम फाइनलमा पुग्ने छन्। प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए।
प्रकाशित: २४ फाल्गुन २०७९ २०:१४ बुधबार