१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफ र चर्च ब्वाइजको विजयी सुरुआत

विभागीय क्लब एपिएफ र नवप्रवेशी चर्च ब्वाइजले सहिद स्मारक ‘ए’ डिभिजनमा विजयी सुरुआत गर्दा आठ पटकको विजेता मनाङ मस्र्याङ्दीले भने पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा एपिएफले थी स्टार क्लबमाथि २–० को जित निकालेको हो। गत सिजन विदेशी खेलाडी अनुबन्धित गर्नु अघिसम्म जित लय भेट्टाउन असफल भएको एपिएफले जापनिज गोलकिपर कुरी यामा, स्ट्राइकर अर्मान्ड बेडोम र रक्षक एडामा डोम्बियालाई भित्र्याएपछि मात्र पहिलो जित हात पारेको थियो।

गत सिजनको जस्तै नियति नदोहोरियोस् भनेर एपिएफले सिजनको पहिला खेलबाटै विदेशी खेलाडी मैदान उतारेको थियो। टोलीको सफलतामा यी खेलाडीको उपस्थिति महत्वपूर्ण रह्यो। रक्षक डोम्बियाले निरन्तर थ्री स्टारका स्ट्राइकर अजयी मार्टिन्सलाई रोकेका थिए भने बेडोमले टोलीको जितमा एक गोल गरेका थिए।

७२औं मिनेटमा मणिकुमार राईको फ्रिकिक गोलमा एपिएफले अग्रता लिएको थियो। खेल सकिन तीन मिनेट बाँकी रहँदा बेडोमले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारेका थिए। गत सिजन पहिलो खेलमा च्यासल युथमाथि ३–० को जितसहित सुखद सुरुअत गरेको थ्री स्टारले यस सिजन भने सुखद नतिजा ल्याउन सकेन। गत सिजन भने यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

यता च्यासल मैदानमा सम्पन्न खेलमा भने नवप्रवेशी चर्च ब्वाइजले नेपाल पुलिस क्लबमाथि २–१ को पुनरागमन जित निकालेको हो। यसअघि शुक्रबार उद्घाटन खेलमा अर्काे नवप्रवेशी टोली एफसी खुमलटारले फ्रेन्ड्स क्लबमाथि १–० को जित निकालेको थियो। १४औं मिनेटमा रविकुमार पासवानले गरेको गोलमा पुलिसले अग्रता लिएको थियो।

पहिलो हाफको इन्जुरी समयकोे तेस्रो मिनेटमा आशिष चौधरीको पेनाल्टी गोलमा चर्च ब्वाइज खेलमा फर्किएको थियो। ७०औं मिनेटमा फ्य्राङ्क्लिन क्वेटा टेल्लाले गरेको गोल चर्च ब्वाइजको जितमा निर्णायक बन्यो। च्यासल फुटबल मैदानमा लिगको खेल आयोजना गरिएको यो पहिलोपटक हो। यस पटक दशरथ रंगशाला, एन्फा कम्पेक्स सातदोबाटो र च्यासल मैदान गरी तीन स्थानमा लिगका खेल आयोजना हुनेछन्।

शनिबार नै दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा मनाङ हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको हो। १४औं मिनेटमा रोशन रानामगरको गोलमा मनाङले अग्रता लिएको थियो। तर अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा मनाङ अंक बाँड्न बाध्य भएको थियो। सुरेश कुमालको गोलमा हिमालयन शेर्पा खेलमा फर्र्किएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७९ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App