दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट तर्फको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ।
कालुन्चोक क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध विभागीय टोली आर्मीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १७७ बनायो।
राष्ट्रिय टोलीबाट समेत खेलीसकेका आर्मीका कप्तान विनोद भण्डारी र कुशल मल्लको समान ३६—३६ रनको योगदानमा १७८ रनको लक्ष्य खडा गर्यो।
मल्लले २ छक्का र ४ चौका प्रहार गर्दै ३६ रन जोड्दा भण्डारीले एक छक्का र तीन चौकाको मद्दतमा ३६ बलमा ३६ रन बटुले।
आर्मीका वशिर अहमदले २७ र त्रितराज दास ११ बलमा २४ रन जोडेपनि राष्ट्रिय टीमका अर्को सदस्य भीम सार्की दुई बल खेल्दै खातै नखोली डगआउट भए।
बलिङमा गण्डकीका कप्तान विपिन खत्रीले २८ रन खर्चेर तीन विकेट हात पार्दा कृष्ण पौडेल र सुदिप अर्यालको खातामा समान दुई–दुई विकेट रह्यो। गण्डकीले २१ रन अतिरिक्त खर्चिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकी भने १७ ओभरमा अलआउट हुँदा ११० रनमा सीमित भयो।
गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १५ बलमा ५ चौकासहित २६ रन जोडेर टीमका लागि सर्वाधिक रन बटुले भने सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन जोडे।
आर्मीका लागि म्यान अफ दि म्याच तिलकराज भण्डारीले ३ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर ४ विकेट हात पारे। यस्तै नरेश साउँदले २ र कुशल मल्लले १ विकेट लिए।
पहिलो जीतसँगै कर्णाली र आर्मीले समान दुई–दुई अंक जोडेका छन्।
प्रकाशित: १० मंसिर २०८३ १७:२३ बिहीबार





