१ पुस २०८१ सोमबार
image/svg+xml
खेल

परिवारको इच्छा पूरा गर्दै उषा

भाग्य होस् त उषा भण्डारीको जस्तो। अरू परिवारमा भए, आफ्ना छोरीछोरीले अर्कै केही बाटो रोजे हुन्थ्यो भन्ने इच्छा हुँदो हो। उषाको परिवार आफ्नी छोरी खेलाडी नै होस् भन्ने चाह्याे। अहिले पनि उनीसँग बुबा गजेन्द्र भण्डारीको परिवार छोरीको खेलजीवन सफल होस् भनेर दिनरात लागिरहेको हुन्छ। त्यसैले पनि उषा भन्छिन्, ‘मेरो लागि त परिवार नै सबथोक।’  

हामी कुरा गरिरहेका छौं, भलिबलकी उदीयमान १८ वर्षीया खेलाडी उषाको।

सुन्दर छिन् उनी। मन्द मुस्कान गज्जब छ। उनी नेपाली महिला भलिबलमा ग्ल्यामर भित्र्याउन पनि उत्तिकै सक्षम छिन्। खेल क्षेत्रमा यसको महŒव छुट्टै छ। परिवारकी कान्छी उनी भलिबलकी पनि कान्छी नै। कसैले मायाले कान्छी भन्दा मक्ख पर्छिन्। हल्का पुलपुलिएर हुर्केकी थिइन्, परिवारको एउटै इच्छा थियो, ‘आफ्नी यी छोरीले खेलेर देशको नाम राखून्।’ अब खेलाडीले योभन्दा बढी के नै चाहन्छ र?

तनहु“की उषा पुलिसबाट खेल्छिन् र पुलिसले पछिल्लो समयमा प्राप्त गरेका सफलतामा उनी एक प्रमुख खेलाडी हुन्। ओपन स्पाइकरको भूमिकामा खेल्छिन्। उचाइ रहेको छ, पाँच फिट सात इन्चभन्दा केही बढी। ‘जम्प’ पनि गज्जब छ। एक प्रकारले अलराउन्डर पाराकी खेलाडी हुन्। नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेफ स्पोट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पा“च खेलाडीको नाम मनोनयन गरेकोमा यसपल्ट उनी पनि परेकी छिन्।

मनोनयनमा पर्ने अन्य खेलाडीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा पनि छन्। जति बेला यसबारे उनले पहिलोपल्ट जानकारी पाइन्, घरमा आराम गरिरहेकी थिइन्। लाग्यो, सपना हो। अझै लाग्छ, यो सपना नै हो। तर उनलाई के पनि थाहा छ भने उनले सपना देखेकी पनि थिइन्, कुनै दिन यो अवार्डको मनोनयनमा पर्ने। भन्छिन्, यो होडमा नेपाली भलिबल, यसका प्रशंसक र अनि पुलिस परिवार उनको साथमा हुनेछ नै।

सानोमा उनको रूचि अरू नै खेलमा थियो, बुबाले भलिबलमै दोहोर्याए। बुबालाई लागेको थियो, यो खेलमा उनको भविष्य छ। नभन्दै उनी सन् २०१९ आइपुग्दा नपुग्दै राष्ट्रिय टोलीमा परिन्। अवसर थियो, १३औं दक्षिण एसियाली खेलकुद। उनी भर्खर १४ वर्षकी थिइन्। त्यही उमेरमा ऐतिहासिक रजत पदक जितिन्। सन् २०२१ यता त उनी राष्ट्रिय टिमकी नियमित सदस्य भएकी छिन्, नियमित मात्र होइन्, महत्वपूर्ण पनि। पुलिसलाई च्याम्पियन बनाउन उनको योगदानबारे त कति मात्र चर्चा गर्ने?

त्यही वर्ष बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाल च्याम्पियन हुँदा त्यसकी प्रमुख सदस्य थिइन्। नेपाली महिला भलिबल वृत्तमा उनीबारे चर्चा छेडिनुपर्छ, सुन्न पाइन्छ, उनी यो खेलमा ‘लामो रेसकी घोडा’हुन्। उनले  लामो समय खेल्न सक्छिन्, अझ उनीबाट राष्ट्रिय टिममा कुनै न कुनै दिन कप्तानको पनि अपेक्षा गर्न सकिन्छ। साँच्चै नेपाली भलिबलका लागि धेरै योगदान दिन सक्ने बाटोमा छिन्, उषा।

माल्दिभ्समा व्यावसायिक भलिबल खेलेको पनि उनीसँग अब राम्रै अनुभव भइसकेको छ। माल्दिभ्समा उनी कति धेरै लोकप्रिय छिन् भने उनको नाम लिएर समर्थकहरू खुसीले झुम्ने गर्छन्। केहबेर उनीसँग भलाकुसारी गर्नुपर्छ, साहै मिजासिली देखिन्छिन्। उनी भन्छिन्, ‘मन मिल्नेसँग साह्रै नजिकिने बानी पनि छ।’उनी आफ्ना आमाबुबाको सबैभन्दा नजिक छन् नै, अचेल भलिबललाई आफ्नो पहिलो प्रेम पनि मान्छिन्। अब उनलाई पिपल्स च्वाइस अवार्डमा विजेता बनाउने काम तपाई खेलप्रेमीको हो, धेरैभन्दा धेरै मत दिएर।  

प्रकाशित: १३ फाल्गुन २०७९ ००:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App