४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

भोलिदेखि २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप, उद्घाटन खेल धरान र युकेएफसि भारतबिच हुने

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको तयारी पुरा भएकोबारे शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिँदै। तस्बिर: रोहित राई

मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं संस्करण भोलि (शनिबार) देखि सुरु हुदैछ। 

धरान १६ स्थित रंगशालामा एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। धरान फुटबल क्लबले शुक्रबार रंगशालामा पत्रकार सम्मेलन गर्दै गोल्डकपको तयारी पुरा भएको जानकारी दिएको हो। उद्घाटन समारोहको प्रमुख अतिथि धरानका मेयर हर्क साम्पाङ राई रहने अध्यक्ष किशोर राईले जानकारी दिए। उद्घाटन समारोहलाई भव्य बनाउन ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले प्रस्तुति दिने पनि उनले बताए। 

शनिबार प्रतियोगिताको उद्घाटन खेल आयोजक र युके एफसि भारतबिच हुनेछ। प्रतियोगितामा केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब गरी ८ वटा टिमको सहभागिता रहेको छ। यसपालि पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरुको सबै जानकारी उपलब्ध हुने व्यवस्था गरिएको पनि अध्यक्ष राईले जानकारी दिए। 

प्रतियोगिताको प्रत्येक दिन हुने खेलमा प्रमुख अतिथि रहने पनि आयोजकले जानकारी दिए। खेल हेर्न आउने ६५ बर्ष उमेर माथिकालाई नागरिकता देखाए निशुल्क प्रवेश गर्न दिने र अपांग बालबालिकालाई पनि निशुल्क प्रवेश गर्न दिइने क्लबले जनाएको छ। उद्घाटन खेलको टिम युकेएफसि धरान आइसकेको छ भने अन्य टिमहरु पनि आउने क्रममा रहेको आयोजकले जानकारी दिएको छ। यो पटक बाँसको प्याराफिट हुने छैन भने ४ हजार भन्दा बढी क्षमताको पक्की प्याराफिट रहेको पनि क्लबका अध्यक्ष राईले बताए। 

प्रतियोगिताको फाइनल फागुन २० गते हुनेछ। विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ। उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने पनि आयोजक क्लबको भनाई छ। विगतमा उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउँदै आएका थिए। प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ भने प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइनेछ। 

कोभिड महामारीसँगै सुरु भएको आर्थिक संकटको कारण विगत दुई बर्ष २३ औं संस्करण हुन सकेको थिएन। २०५५ सालदेखि सुरु भएको गोल्ड कप पहिलो पटक लगातार २ बर्ष रोकिएको थियो। प्रतियोगिताको लागी यसपालि विभिन्न निकाय, संघसंस्था तथा दाताहरुबाटसमेत गरेर १ करोड ९ लाख ५० हजार आय हुने अनुमान क्लबको रहेको छ। त्यसमध्ये ८५ लाख ५ हजार खर्च हुने र क्लबलाई मुनाफामा लैजाने लक्ष्य राखेको पनि अध्यक्ष राईले बताए। 

प्रकाशित: १२ फाल्गुन २०७९ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App