२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकप: शेर्पा क्वार्टरफाइनलमा

म्यान अफ द म्याच भएका निशान लिम्बु।

सर्लाहीको बागमती युवा क्लबलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा बागमतीलाई २–१ गोलले हराउँदै शेर्पाले अन्तिम ८ मा स्थान बनाएको हो। शेर्पाका लागि ३८ औँ मिनेटमा विदेशी खेलाडी यामीले गोल गरेका थिए।

बागमतीका डिफेण्डरको गल्तीको फाइदा उठाउँदै उनले बललाई पोष्टको दिशा दिएका हुन्। ६३ औँ मिनेटमा शेर्पाले अग्रता दोब्बर पा¥यो। कप्तान दिपेश श्रेष्ठले निकालेको पासलाई नियन्त्रणमा लिँदै बागमतीका गोलरक्षक अनिष महतो अघि बढेको अवस्थामा निशान लिम्बुले सहजै गोल गरेका हुन्।

६५ मिनेटमा बागमतीले अग्रता घटायो। शेर्पाका गोलरक्षक किशोर गिरीबाट रिबाउण्डमा आएको बललाई सनम घिमालले गोल गरेका हुन्। दोस्रो हाफमा मैदान प्रवेश गरेका विजय घलानको लामो प्रहारलाई शेर्पाका गिरीले पञ्च गरेका थिए। सोही बललाई घिमालले गोल गरेका हुन्।

खेलको अन्तिम १५ मिनेट बागमतीले निकै सुधारिएको खेल प्रस्तुत गरे पनि टिमलाई हारबाट जोगाउन सकेन। खेलमा शेर्पाका निशान लिम्बु म्यान अफ द म्याच भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। बागमतीका प्रशिक्षक सोनाम लामाले दिनहुँ खेल्नुपरेकोले सोचे अनुरूपको खेल नभएको प्रतिक्रिया दिए।

‘तीन दिन देखि रेगुलर खेलिरहेका छौँ। खेलाडीहरू थोकेकोले पनि सोचे अनुरूपको खेल भएन’, उनले भने। यता शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले आगामी खेलमा खेलाडी परिवर्तन हुने र सुधार गरेर खेल्ने प्रतिक्रिया दिए। ‘पहिलो खेल भएकोले खेलाडीहरू खुलेर खेल्न सकेनन्’, उनले भने, ‘अर्को खेलमा अरू खेलाडी थपिनेछन्। सुधारिएको खेल प्रस्तुत गर्नेछौँ।’

जारी प्रतियोगितामा बुधवार क्यामरुनको एभिनियर एफसी र वीरगन्ज युनाइटेडको खेल हुनेछ। यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरूको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको हो।

प्रकाशित: २ फाल्गुन २०७९ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App