coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल सुखद नतिजा ल्याउनेमा विश्वस्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत आज मंगलबारबाट सुरु हुने नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलामा सुखद नतिजा ल्याउन विश्वस्त रहेको बताएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा आज नेपालले नामिबियाको सामना गर्दै छ। नेपाल क्रिकेट संघ (क्यान)ले गत साात मात्र मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

‘हामीले पछिल्लो १० दिनदेखि प्रशिक्षण गरिरहेका छौं,’ पौडेलले भने, ‘टोलीको तयारी राम्रो भएको छ। हामी सुखद नतिजा ल्याउनेमा विश्वस्त छाैं। टोलीमाथि कुनै दबाब छैन। यु–१९ टोलीबाटै प्रशिक्षक देसाईको प्रशिक्षणमा खेलिसकेका छाैं। त्यसले गर्दा हामीलाई धेरै सहज भएको छ।’

रोहितले टोलीमाथि एकदिवसीय वरीयता कायम राख्न पनि यस शृंखलामा सुखद नतिजा ल्याउनैपर्ने दबाब भएको र सो लक्ष्य प्राप्तिका लागि आफूहरू पूर्ण रूपमा तयार रहेकोे समेत बताए।

लिग ‘टु’ मा स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ भने ३६ खेलमा ४४ अंकसहित ओमान दोस्रो स्थानमा छ। नामिबिया भने ३० खेलमा ३७ अंकसहित तेस्रो, अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो, युएई २६ खेलमा २७ अंकसहित पाँचौं स्थानमा छन्।

नेपाल भने २४ खेलमा १८ अंकसहित छैटौं र पपुवा न्युगिनी २८ खेलमा ५ अंक बटुल्दै सातौं स्थानमा छन्।। नेपालले अब १२ खेल खेल्न बाँकी छ र त्यसमध्ये कम्तीमा ९ खेल जितेमा एकदिवसीय मान्यता जोगाउन सक्छ।

नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग ‘टुु अन्तर्गत नामिबियाको भ्रमण गरेको थियो। पहिलो खेल वर्षाले बिथोल्दा नामिबिया र नेपालले अंक बाँडेका थिए। दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई ३ विकेटको नतिजा सुम्पिएको थियो। तेस्रो खेलमा नामिबियालाई ८६ रनको नतिजा सुम्पिएको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ८ विकेटको नतिजा सुम्पिएको थियो।

रोहितको कप्तानीमा नेपालले खेलेको यो पहिलो शृंखला थियो। नाबालिग बलात्कारको आरोपमा पूर्वकप्तान सन्दीप लामिछाने निलम्बनमा परेसँगै रोहितले कप्तानको जिम्मेवारी पाएका थिए। गत बिहीबार क्यानले पूर्वकप्तान सन्दीपलाई समेट्दै आगामी त्रिकोणात्मक शृंखलाका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको थियो।  

असोजमा नाबालिग बलात्कारको आरोपमा पक्राउ परेसँगै क्यानले सन्दीपको कप्तानी खोस्नुका साथै राष्ट्रिय टोलीबाट समेत निलम्बन गरेको थियो। गत साता पोखरामा बसेको क्यानको बोर्ड बैठकले तीन महिनाको अनुशासन कारबाही सकिएको भन्दै निलम्बन फुकुवा गरेपछि सन्दीप गत बिहीबारबाट बन्द प्रशिक्षणमा सहभागी भएका थिए।

भदौ ५ मा एक नाबालिगले सन्दीपले बलात्कार गरेको भन्दै गौशाला प्रहरी बिटमा उजुरी दिएकी थिइन्। सन्दीप नाबालिग बलात्कारको आरोपमा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले उनलाई कात्तिक १८ गते मुद्दाको किनारा नलागेसम्म केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको थियो। सन्दीपले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। पुस २८ गते उच्च अदालतले सन्दीपलाई सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।  

गत बुधबार मात्र महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको निर्णय बदरको मागसहित सन्दीपलाई थुनमै राख्न सर्वोच्च अदालतमा निवदेन दिएको थियो। सो निवेदनमाथि गएको शुक्रबार सर्वोच्च अदालतले उच्च अदालतको धरौटीमा रिहा गर्ने फैसलाको कैफियत झिकाउन आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतमा यो मुद्दा विचाराधीन छ। अदातलमा मुद्दा विचाराधीन रहँदा क्यानले भने सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गरेको हो।

प्रकाशित: २ फाल्गुन २०७९ ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App