५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

मंगलबारदेखि पुष्पलाल स्मृति ब्याडमिन्टन

१२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा मंगलबारदेखि हुँदैछ। फागुन ७ गतेसम्म विराटनगरस्थित सहिद रंगशालाको कर्भड हलमा प्रतियोगिता हुनेछ।   

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए। फागुन ७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन मंगलबार हुनेछ । 

यस प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेलाडीको वरियता क्रम तय गर्ने बताउँदै, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ भने, ‘नेपालको सबैभन्दा उत्कृष्ट प्रतियोगिता हो। यसमा नेपालका विभिन्न उमेर समूहका साथै राष्ट्रिय खेलाडीहरुको सहभागिता रहन्छ। वरियता छुटाउने गरी पहिलो पटक प्रतियोगिताको सुरुवात यहाँबाट भएको हो।’

उनले यहाँबाट सुरु भएको प्रतियोगिताको संस्करण १२ औं श्रृंखलासम्म आइपुग्दा भव्य र सभ्य तरिकाले सम्पन्न हुँदै आएको छ। यस प्रतियोगितामा ३ सय बढी खेलाडीहरुको सहभागिता रहन्छ। अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको एक मात्र उत्कृष्ट प्रतियोगिता हो। यसमा नेपालका चर्चित खेलाडीदेखि जुनियरसम्मकाले भाग लिने छन्। प्रतियोगिताले खेलाडी उत्पादन गर्न ठुलो मद्दत गर्ने छ।’ 

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ वरियतामा रहेका पुरुष एकल, शीर्ष १२ वरियतामा रहेका महिला एकल, शीर्ष १६ वरियता बाहेकका पुरुष एकल, शीर्ष १२ वरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्ष माथि र ५५ वर्ष माथि गरी १० विधा रहेको छ। 

करिब २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशि ५ लाख ९८ हजार रहेको छ। जसअन्तर्गत शीर्ष १६ वरियता पुरुष र शीर्ष १२ वरियता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुनेछ। यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तिकै १ हजार ५ सय प्राप्त गर्ने छन्। 

यसै गरी लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्ने छन्। क्वाटरफाइनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्ने छन्। सेमिफाइनल जित्ने खेलाडीले थप १६ हजार जित्ने छन् भने फाइनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन्। 

यस्तै उच्च वरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ वर्षमाथि र ५५ वर्षमाथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकलतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।

प्रकाशित: १ फाल्गुन २०७९ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App