२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एनआरटीलाई हराउँदै वीरगञ्ज क्वार्टरफाइनलमा

बल अगाडी बढाउँदै एनआरटीका लालनुन जामा।

ए डिभिजन क्लव न्यूरोड टिम एनआरटीलाई निराश बनाउँदै वीरगञ्ज युनाइटेड हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सुरुवाती अग्रता जोगाउन नसक्दा एनआरटी पहिलो खेलमै पराजित भएको हो। एनआरटीले २३ औं मिनेटमै दिपेश आले मगरको गोलमार्फत खेलमा अग्रता लिएको थियो। कृतिसरत्न छुन्जुको प्रहारमा रिबाउण्ड आएको बललाई मगरले गोलमा परिणत गरेको हो। २९ औं मिनेटमा वीरगञ्जका विवेक चौधरीले बराबरी गोल फर्काए। ५० औं मिनेटमा कृपा चौधरीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाए। एनआरटीका डिफेण्डरले वीरगञ्जका खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई उनले सिधै गोलमा परिणत गरेका हुन्।

७४ औं मिनेटमा कृपाले नै वीरगञ्जका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। रिबाउण्ड बललाई नियन्त्रणमा लिँदै उनले सहजै गोल गरेका हुन्। ७८ औं मिनेटमा एनआरटीका लालनुन जामाले गोल गर्दै अग्रता घटाएपनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन्। २८ औं मिनेटमा वीरगञ्जका गोलरक्षक प्रमिजय गच्छदार अघि बढेको अवस्थामा एनआरटीका कृतिसरत्नको प्रहार पोष्टबाट थोरै बाहिरियो। ४२ औं मिनेटमा जामाको प्रहार पोष्टमा लाग्दा एनआरटी अभागी बन्यो। ८३ औं मिनेटमा एनआरटीले बराबरी गर्ने मौका खेर फाल्यो। लालनुन जामाको प्रहारलाई गोलरक्षक गच्छदारले सहजै नियन्त्रणमा लिए।  

खेलमा दुई गोल गरेका वीरगञ्जका कृपा चौधरी नै खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। वीरगञ्जका प्रशिक्षक सुलभजंग रानाले बी डिभिजन टिमले ए डिभिजन टिमलाई जित्नु गौरवको बिषय भएको प्रतिक्रिया दिए। बी डिभिजन लिगको तयारीमा रहेको खेलाडीलाई लिएर मैदान प्रवेश गरेको उनले बताए। ‘जित्छौं भनेरै आएका हौं । बाँकी खेलमा पनि यही खेलाडीहरु खेल्नेछन्’, उनले भने।

यता एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्ना खेलाडीले सोचे अनुरुपको खेल्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए। ‘लिगको तयारीमा रहेका छौं। यस्तै खेलले हामीलाई लिगमा पनि गाह्रो हुने देखिन्छ’, उनले भने, ‘खेलाडीमा तालमेलको अभाव भयो। विदेशी खेलाडीले पनि खासै राम्रो खेल्न सकेनन्।’ जारी प्रतियोगितामा मंगलबार हिमालयन शेर्पा क्लवले सर्लाहीको बागमती युवा क्लवसँग खेल्नेछ। सातवटा ए डिभिजन, एउटा विदेशी तथा ४ वटा मोफसलका गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

प्रकाशित: १ फाल्गुन २०७९ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App