१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

क्रिकेटको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार भारतका मोन्टी देशाईलाई औपचारिक रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक घोषणा गरेको छ।

क्यानले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर भारतीय मोन्टी देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो। तर यसअघि मोन्टी देशाई नेपाल आएर माघ १५ गतेबाट नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए।

सार्वजनिक गरिएको कार्यक्रममा क्यानले देशाईसँग दुई वर्षे सम्झौता गरेको क्यानले जानकारी दियो। यससँगै एक दिवसीय मान्यता पाएपछि नेपाली क्रिकेट सम्हाल्ने देशाई छैटाै‌ँ प्रशिक्षक भएका छन्। एक दिवसीय मान्यता पछि नेपाली टोलीलाई यसअघि जगत टमाटा, उमेश पटुवाल, डेभ ह्वाटमेयर, पुबुदु दाशानायके र मनोज प्रभाकरले प्रशिक्षण गरेका थिए।

सोमवार आयोजित औपचारिक प्रशिक्षक घोषणा कार्यक्रममा मुख्य प्रशिक्षक मोन्टी देशाईले आफ्नो पहिलो लक्ष्य ड्रेसिङ रुमलाई खुशी बनाउँदै एक ढिक्काको क्रिकेट टोली बनाउने योजना रहेको सुनाए।

नियुक्ती पहिलो नेपाली टोलीसँग जोडिएर एक साता बिताएका देशाईले खेलाडीमा राम्रो क्षमता भएको र उनीहरुको क्षमता योजना अनुसार कार्यन्वयन हुँदा राम्रो नतिजा निस्किने जिकिर गरे। नेपाली क्रिकेटले एक दिवसीय मायन्यता प्राप्त गर्दा आपूm प्रत्यक्षदर्शी रहेको र अहिले खेलाडीमा पनि राम्रो नतिजा निकाल्ने सम्भावना रहेको भन्दै नेपाली क्रिकेटले आगामी दिनमा सुखद् नतिजा दिलाउने बताए। खेलाडीमा सिक्ने भोक रहेको र सिमित श्रोत र सधानबाट उनीहरुको मेहेनेतले आफू प्रभावित भएको उनको भनाइ थियो।

तत्कालिन मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक बिहीन रहेको थियो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेपनि सम्झौता सकिनुअघि नै प्रभाकरले पद छोडेका थिए। उनको प्रशिक्षणमा नेपाली टोली आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–दुई अन्तर्गत नामिबिया भ्रमण गर्दा अपेक्षा अनुसारको प्रदर्शन गरेको थिएन। त्यसपछि रिक्त पदमा क्यानले देशालाई नियुक्त गरेको हो। नेपालले फागुन २ गतेबाट घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्दैछ। त्यसका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणमा अहिले दोस्रो चरणका खेलाडीले अभ्यास गरिरहेका छन्। जसमा नाबालिका बलात्कार आरोप लागेर धरौटिमा रिहा भएका सन्दीप लामिछाने पनि अटाएका छन्।

निलम्वन फुकुवा गरेर सन्दीपलाई बन्द प्रशिक्षणमा राखेपछि क्यानको चौतर्फी आलोचना भएको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेलाई टिममा राख्नेरनराख्ने निर्णय प्रशिक्षक र छनोट समितिले लिने बताउँदै टोलीमा समावेश गर्न दबाब दिन नसक्ने बताए। शारीरिक र मानसिक हिसावमा अब्बल र टिममा आवश्यकता अनुसार निर्णय हुने उनको भनाइ थियो। चौतर्फी आलोचनाले सन्दीपलाई राख्नैपर्छ वा हटाउनै पर्छ भन्ने क्यानको धारण नभएको उनले स्पष्ट पारे।

नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मेदानमा फागुन २ र ६ मा नामिबिया तथा फागुन ५ र ९  गते स्कटल्याण्डसँग खेल्नेछ। यसैगरी स्कटल्याण्ड र नामिबियाबीच फागुन ३ र ८ गते प्रतिष्पर्धा हुनेछ। लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेल बिना नतिजा सकिएको छ। नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ। लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ। यसैगरी ओमानले ४४, अमेरिकाले ३५, युएईले २७ र पपुवा न्युगिनीले ५ अंक जोडेका छन्। उनीहरु क्रमशः तालिकाको दोस्रो, चौथो, पाँचौं र अन्तिम स्थानमा छन्।

मुख्य प्रशिक्षक नियुक्त भएका देशाई सन् २०१८ मा अफगानिस्तान र सन् २०१९ को अक्टोबरमा युनाइटेड अरब इमिरेट्स (युएई) को ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। २०१९ मै उनले विश्वकप क्रिकेट लिग–२ का लागि क्यानडाको मुख्य प्रशिक्षण सम्हालेका थिए।

सोही वर्ष उनी दुई वर्षको सम्झौतासहित वेस्ट इन्जिड क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका थिए। सन् २०१७ मा नेपाली यु–१९ टोलीले यु–१९ एशिया कपमा भारतलाई हराउँदा देसाई नेपालका ब्याटिङ सल्लाहकार थिए। २०१४ को ट्वान्टी–२० विश्वकप र २०१५ मा आयरल्याण्ड र स्कटल्याण्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा पनि देसाई नेपाली टिमसँग आवद्ध थिए।

प्रकाशित: २३ माघ २०७९ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App