२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफ र न्यु डायमन्डको सुखद सुरुआत

साबिक विजेता एपिएफ र होङ्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सेटमा नतिजा निकाल्दै सुखद सुरुआत गरेको हो। दोस्रो खेलमा एपिएफले पनि विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा नै स्तब्ध बनायो। न्यु डायमन्डले आर्मीलाई २५–२०, २५–१४, २५–१० ले सहजै हरायो। पहिलो सेटको सुरुआतमा ४–० को अग्रता लिएको आर्मीले त्यसलाई निरन्तरता दिन सकेन।

न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा आर्मीलाई खेलमा फर्कने अवसर नै दिएन। न्यु डायमन्डकी रिमा कुँवर प्लेयर अफ दी म्याच घोषित भइन्। उनलाई नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले नगद १० हजार रूपैयाँसहित ट्रफी प्रदान गरे। दोस्रो खेलमा साबिक विजेता एपिएफ क्लबले पनि जित निकाल्यो। एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० ले सहजै हराउँदै तीन अंक बटुल्यो। पुलिस सातौं एनभिए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको विजेता हो। उक्त च्याम्पियनसिपको फाइनलमा न्यु डायमन्डलाई हराउँदै पुलिसले उपाधि जितेको थियो।

यस प्रतियोगितामा भने पुलिसको सुरुआत राम्रो हुन सकेन। एपिएफले पुलिसलाई २५–२०, २५–२१, २५–२१ ले हरायो। एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भइन्। चौधरीले नगद १० हजारसहित ट्रफी प्राप्त गरिन्। यस अघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रतिष्ठान र निजी क्षेत्रको महत्त्व रहेको भन्दै अन्य निजी संस्था तथा प्रतिष्ठानले पनि खेलकुदमा चासो देखाउनु पर्नेमा जोड दिए।

प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमन्डले प्रतिस्पर्धा गरिरहेका छन्। पत्रकार सम्मेलनमा गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबको समेत सहभागिता रहने बताइए पनि अन्तिममा आएर दुई टोली सहभागी भएनन्।

राउन्ड रोबिनको आधारमा सञ्चालन भएको प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो स्थानका टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। आगामी माघ २४ गतेसम्म हुने प्रतियोगिताका विजेताले नगद तीन लाख उपविजेताले एक लाख ५० हजार रूपैयाँ पाउनेछन्। त्यस्तै तेस्रो हुने टोलीले ७५ हजार रूपैयाँ नगद पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद भने ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

विधागत उत्कृष्टतर्फ जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचले १० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा एक उदीयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ। प्रतियोगितामा आइतबार पहिलो खेलमा एपिएफ र आर्मी तथा दोस्रो खेल न्यु डायमन्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २२ माघ २०७९ ००:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App