२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपाली खेलकुदमा पहिलो पटक एन्थ्रोपोमेट्रिक अनुसन्धान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपोमेट्रिक अनुसन्धान सुरु गरेको छ। राखेपका सदस्यसचिव टंकलाल घिसिङको अवधारणाअनुरूप अन्य मुलुकमा झैँ नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालमै पहिलो पटक यो अनुसन्धान सुरुआत गरिएको हो।

विभिन्न जातजाति र भौगोलिक अवस्थाअनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३–१५ वर्ष उमेरसमूहका युवाहरूको शारीरिक बनोटको पहिचान गरी उनीहरूलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपोमेट्रिक अनुसन्धान गरिएको हो। 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका विभिन्न जिल्लामा अनुसन्धान गरिएको थियो । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेलविज्ञ कुमारी हीरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानीयसँग समन्वय गरी अनुसन्धान गरेको हो।

सुदूरपश्चिमको कञ्चनपुर र डँडेलधुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बागलुङ, मधेसको धनुषा र सिराहा, कोसीको सुनसरी र सोलुखुम्बु तथा बागमतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको थियो। अनुसन्धानमा थारू, मगर, ब्राह्मण, क्षत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३–१५ वर्ष उमेरसमूहका आठ सय ५० बालबालिका समावेश थिए।

सोही टोलीले सो अनुसन्धानका क्रममा सातै प्रदेशका विभिन्न जिल्लामा परम्परागत खेलको अनुसन्धान पनि गरेको थियो । कुन स्थानमा कुन/कुन परम्परागत खेल खेलिँदै आएको छ भन्ने तथ्यांक संकलन गरी सो क्षेत्रमा उक्त खेलको विकास र विस्तार गर्दै खेलको जगेर्ना गर्ने उद्देश्यले परम्परागत खेलको पनि अनुसन्धान गरिएको निर्देशक तिमल्सिनाले बताए । 

यसका लागि  २५ देखि ८५ वर्ष उमेरसमूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीको समूहबाट परम्परागत खेलका विषयमा जानकारी लिइएको थियो।

टोलीले राखेपका सदस्यसचिव घिसिङलाई बिहीबार प्रतिवेदन बुझाएको छ। सो अवसरमा सदस्यसचिव घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै राखेपले कार्ययोजना तयार गरी अगाडि बढ्ने बताए।

‘नेपाली खेलकुदमा यो एउटा नयाँ अभ्यास हो। हाम्रो पहिलो प्रयासले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने विश्वास छ। आशा छ क्षमता भएर पनि कसैको नजरमा नपरेका क्षमतावान् खेलाडी अगाडि आउनेछन्,’ सदस्यसचिव घिसिङले भने, ‘आगामी दिनमा अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउँदै लैजाने छौं।’ 

उनले नेपालमा खेलिने परम्परागत खेलको पनि तथ्यांक संकलन गर्नु महत्त्वपूर्ण भएको बताउँदै यसले नेपालमा खेलिने मौलिक खेल केके हुन्, कहाँकहाँ खेलिन्छन् र कुन अवस्थामा छन् भन्ने जान्न र जगेर्ना गर्न जरुरी भएको बताए।

प्रकाशित: २१ असार २०८१ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App