२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

आफ्नै ‘आइडल’ विरुद्धको भिडन्तमा एम्बाप्पे

क्रिस्टियानो रोनाल्डो भर्सेस किलियन एम्बाप्पे। फुटबल आइकनसँगको टकराव। फरक पुस्ताको द्वन्द्व। शुक्रबार युरो कपअन्तर्गत क्वार्टरफाइनलमा पोर्चुगल र फ्रान्स भिड्दा यही दृश्य देखिनेछ । यो ‘हेभिवेट’ भिडन्तमा सबैको ध्यान दुई कप्तान रोनाल्डो र एम्बाप्पेमै केन्द्रित हुनेछ।

३९ वर्षीय भेट्रान स्टाइकर रोनाल्डोको यो नै अन्तिम युरो कप हो। अन्तिम १६ मा पोर्चुगलले पेनाल्टी सुटआउटमा स्लोभेनियामाथिको जित हात पारेसँगै आँसु झार्दै उनले नै यो कुरा घोषणा गरेका हुन्। त्यसैले पनि उनी यस प्रतियोगिता जित्दै सुखद बिदाइ लिने योजनामा हुनेछन्। तर, उनको योजनामा बाधक बन्न सक्छन्, उनी र लिओनल मेसीपछि विश्व फुटबलमा आफ्नो प्रभुत्व जमाएका एम्बाप्पे । उनी रोनाल्डोका ठूला ‘फ्यान’ हुन्।

आफ्नो सुत्ने कोठाको भित्तामा टाँसिएको रोनाल्डोको तस्बिर हेर्दै उनी हुर्किएका थिए। सन् २०१२ मा स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षण मैदानको भ्रमण गर्दै १३ वर्षको उमेरमा एम्बाप्पेले रोनाल्डोको छेउमा उभिएर तस्बिरसमेत खिच्ने अवसर प्राप्त गरेका थिए। त्यही तस्बिर आठ वर्षपछि सामाजिक सन्जालमा राख्दै उनले गर्वसाथ रोनाल्डो आफ्नो ‘आइडल’ रहेको खुलासा गरे।

हुन त फुटबलमा लाग्दा नै उनको एकै लक्ष्य थियो, रोनाल्डोसँग सँगै खेल्ने। तर, रोनाल्डो युरोपमा हुँदा यो सम्भाव भएन। तर, रोनाल्डोले नौ वर्ष खेलेको रियलमा अहिले उनी आबद्ध भएका छन्। केही महिनाअघि मात्र रोनाल्डोले इन्स्टाग्राममा एम्बाप्पेको रियाल जाने निर्णय सही भएको बताउँदै आफू उनको खेल हेर्न उत्साहित रहेको बताएका थिए। तर, मैदानबाहिर जति नै मित्रता भए पनि शुक्रबार जित्नैपर्ने दबाबमा यी दुई खेलाडी एकसाथ उत्रिँदा भने रोचक खेलको अपेक्षा गर्न सकिन्छ।

‘जाऔं लडाइँमा जाऔं,’ रोनाल्डोले फ्रान्सविरुद्धको खेलबारे भने। रोनाल्डोले कतार विश्वकप २०२२ का चार र यस युरो कपका चार खेलमा गोल गर्न सकेका छैनन्। त्यसैले रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको टोलीको कप्तानी भूमिकामा उनी मैदान उत्रिन योग्य छन् या छैनन् भन्नेमा पनि चर्चा हुन थालेको छ।

रोनाल्डोजस्तै एम्बाप्पेका लागि पनि यस पटक युरो कप सहज देखिएको छैन। अस्ट्रियाविरुद्धको पहिलो खेलमा नाक भाँचिएपछि मुख्य फरवार्ड एम्बाप्पेले नेदरल्यान्ड्सविरुद्धको खेल गुमाएका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। सुरक्षात्मक ‘फेस मास्क’ लगाएर मैदान फर्किए पनि उनले लय समात्न सकेका छैनन्। गत संस्करणको डेब्यु युरो कपमा पनि उनले गोल गर्न सकेका थिएनन्। पोल्यान्डविरुद्धको समूहचरणको अन्तिम खेलमा पुनरागमन गरेका उनले पेनाल्टीमार्फत एक गोल गरेका थिए। यो नै उनको युरो कपको पहिलो गोल हो।

तर, फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्स भाँचिएको नाकलाई जोगाउन प्रयोग गरिएको मास्कले गर्दा एम्बाप्पे परिधीय दृष्टिसँग संघर्ष गरिरहेको र उत्कृष्ट खेल देखाउन नसकेको तर्क गर्छन्। ‘मास्क लगाउँदा धैरै कुरामा जोगिनुपर्छ। पसिना उसको आँखामा पर्न सक्छ । त्यसैले उनी यसमा अभ्यस्त भइरहेका छन्। तर, यसले उनको दृष्टिलाई असर गरिरहेको छ,’ उनले भने।

गत विश्वकपका सर्वाधिक गोलकर्ता एम्बाप्पे र पुरुष अन्तर्राष्ट्रिय फुटबलका कीर्तिमानी गोलकर्ता रोनाल्डो दुवै क्वार्टरफाइनल पुगिसक्दा पनि एक गोल मात्रै गर्छन् भनेर कमैले अनुमान गरेका थिए। एम्बाप्पेले गत विश्वकपको फाइनलमा उपाधि जित्न नसके पनि अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे। उमेरले भरखरै २५ वर्ष टेकेका उनले फ्रान्सका लागि ४८ गोल गरिसकेका छन् । सम्भवतः उनी अन्तर्राष्ट्रिय करियरमा रोनाल्डाको बराबरीमा पुग्नेछन्।

पोर्चुगलले सेमिफाइनल पुग्न जारी प्रतियोगितामा एक गोल मात्रै गर्न दिएको फ्रेन्च डिफेन्सलाई कमजोर बनाउने प्रयास गर्नुपर्छ। यता, पछिल्लो संस्करणको विश्वकप उपविजेता टोलीका प्रशिक्षक डेसच्याम्प्सले एक खेल गुमाएका मिडफिल्डर एड्रिएन राबिओटको स्थानमा विकल्प खोज्नुपर्नेछ। तीन वर्षअघि युरो कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा रोनाल्डोले दुई पेनाल्टी गोल गर्दै फ्रान्सलाई २–२ को बराबरीमा रोकेका थिए। तर, त्यसअघि पेरिसमा भएको युरो कप २०१६ को फाइनलमा भने पोर्चुगलले घरेलु टोलीलाई अतिरिक्त समयमा पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।

सन् २००६ मा म्युनिखमा भएको विश्वकपको सेमिफाइनल शुक्रबारको खेलभन्दा ठीक १८ वर्षअघि भएको थियो। उक्त खेलमा जिनेदिन जिदानले पोर्चुगलविरुद्ध गोल गर्दै फ्रान्सलाई फाइनलमा पुर्‍याएका थिए। यो आफ्नो अन्तिम युरो कप हुने बताउने रोनाल्डो त्यस दिन खेल्ने खेलाडीमध्ये एक हुन्, जो युरो २०२४ मा पनि सहभागी छन्।

शुक्रबार ‘किकअफ’ अघि रोनाल्डो र एम्बाप्पेले कप्तानको रूपमा हात मिलाउनेछन् र अँगालो पनि हाल्नेछन्। खेल सकिएपछि पनि उनीहरूले यसलाई पुनः दोहोर्‍याउनेछन्। तर, त्यतिन्जेल यी दुईमध्ये एक खेलाडी स्वदेश फर्किने तयारीमा हुनेछन्।

प्रकाशित: २१ असार २०८१ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App