१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

सातौं राष्ट्रिष्यको खेलस्थल छनोट

इटहरी- पूर्वाञ्चलमा मंसिर ८ देखि १५ सम्म हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल र खेल तोकिएको छ। पूर्वाञ्चलका तीन अञ्चलका दुई–दुई  जिल्लालाई स्थल तोकेर प्रतियोगिता हुनेछ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई खेलस्थल तोकेका छन्।

राष्ट्रिय खेलकुद विराटनगरमा उद्घाटन भएर पुरुष फुटबल, पुरुष क्रिकेट, सुटिङ, आर्चरी, टेबलटेनिस, लनटेनिस, हक्की, कबड्डी लगायतका ११ विधाका खेल हुनेछ। प्रतियोगिताको उद्घाटन राष्ट्रपतिद्वारा गरिनेछ।

सुनसरीको इटहरीमा एथलेटिक्स, महिला–पुरुष भलिबल, तेक्वान्दो र महिला क्रिकेट हुनेछ। धरानमा ब्याडमिन्टन, कराते, महिला–पुरुष बास्केटबल, साइकिलिङ र गल्फ हुनेछ। सातौं राष्ट्रिय खेलकुदको समापन पनि धरानमै हुनेछ। समापन भने प्रधानमन्त्रीद्वारा गरिने कार्यक्रम छ।

इनरुवामा भने खो खो हुनेछ भने आइटिएफ कहाँ गर्ने भनेर टुंगो नलागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

झापामा बक्सिङ, जुडो र उसुका प्रतिस्पर्धा हुनेछ। इलाममा बुद्धिचाल, सप्तरीको राजविराजमा भारोत्तोलन र सिरहाको सिरहा बजारमा कुस्ती प्रतियोगिता हुनेछ।

खेल हुने स्थानका भौतिक पूर्वाधार निर्माण गर्न बाँकी रहेका ठाउँमा अहिले युद्धस्तरमा काम भइरहेको सदस्यसचिव विष्टले बताए।

 सातौं राष्ट्रियअन्तर्गत पौडी, शारीरिक सुगठन र ट्रायथलन प्रतियोगिता भइसकेकाले गर्दा अब ३२ खेलका खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापन पक्षका गरी ६ हजार २ सय ८३ जनाले भाग लिने अनुमान छ। राखेपले भदौ २० सम्म खेलाडीको फारम भरिसक्ने र भदौ २५ देखि असोज १४ सम्म जिल्लास्तरीय छनोट गर्नेछ। जिल्लास्तरीय छनोट प्रतियोगिताका लागि सम्बन्धित खेलका प्रशिक्षकलाई अस्थायी नियुक्त गरेर पठाइसकिएको छ। क्षेत्रीय छनोट भने कात्तिक २५ देखि मंसिर ३ सम्म टुंगिनेछ।

प्रतियोगिता गर्न ३७ करोड ६८ लाख रुपैयाँ खर्च हुनेछ। प्रतियोगिता सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको संयोजकत्कमा ३ सय सदस्यीय मूल समिति र राखेपका सदस्यसचिव विष्टको संयोजकत्वमा २८ सदस्यीय कार्यकारी समिति बनेको छ। कार्यकारी समितिले नै १३ वटा उपसमिति बनाएर काम थालेको विष्टले बताए।

खेलकुद प्रतियोगिता गर्न सम्पूर्ण काम गर्ने जिम्मेवारी भने कार्यकारी समितिको हुनेछ। कार्यकारी समितिको बैठक यही भदौ १६ मा बस्दैछ। 'पूर्वाञ्चलमा पहिलोपटक हुने सातौं राष्ट्रिय खेलकुद गर्दा संस्कृति, संस्कार र सभ्यताले चिनाउने गरी प्रतियोगिता भव्य पार्न यस क्षेत्रका सम्पूर्ण पक्ष जुट्नुपर्छ,' विष्टले भने। 

प्रकाशित: ११ भाद्र २०७३ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App