coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टी-२० स्पट फिक्सिङमा ४ नेपाली र ६ विदेशी संलग्न, यसरी भएकाे थियाे फिक्सिङ......

खेलाडी आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्न आएको थियाे एप्रोच

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा गत महिनामा सम्पन्न भएको नेपाल टी-२० लिगमा १० जना व्यक्तिहरु स्पट फिक्सिङमा संलग्न रहेको प्रहरीले बताएको छ।  

प्रहरीका अनुसार १० जना फिक्सिङमा संलग्न रहेकामध्ये ४ जना नेपाली र ६ जना विदेशी छन्। दुई जना नेपालीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा क्रिकेटरद्वय सप्तरी, राजविराज नगरपालिका, वडा नं ३ का ४१ वर्षिय महवुव आलम र बारा, सिम्रौनगढ नगरपालिका, वडा न ३ का २० वर्षिय मोहमद आदिल आलम रहेका छ्न्।  

नेपाल क्रिकेट संघले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको टी-२० लिगमा व्यवस्थापकको भूमिकामा रहेका व्यक्ति, खेलाडीसँग सम्पर्क भएका व्यक्ति र खेलमा सहभागी भएका खेलाडी स्पट फिक्सिङमा संलग्न भएको प्रहरीको बुझाइ छ।पक्राउ परेका दुई खेलाडीहरुलाई लाई पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाइसकेको प्रहरीले बताएको छ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पत्रकार सम्मेलन आयोजनामा लिगमा फिक्सिङ भएको बताएको हो। गृह मन्त्रालयको निर्देशनपछि सिआइबीले अनुसन्धान थालेको थियो।  

एसपी संजयसिंह थापाका अनुसार अनुसन्धान अन्तिम अवस्थामा पुगेको छ। फिक्सिङका लागि पाँच वटा प्रस्ताव आएको प्रहरीको भनाइ छ। जसमा तीन प्रस्तावलाई खेलाडीले एन्टी करप्सन युनिटलाई खबर गरेका थिए। प्रस्ताव आउने बित्तिकै एन्टी करप्सन युनिटलाई खबर गर्नुपर्ने आइसिसीको नियम छ। फिक्सिङ प्रस्तावको अस्वीकार गर्दै जानकारी नगराएकोमा क्रिकेटर पक्राउ परेका हुन्।  

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुव आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको खुल्न आएको छ।

नेपाली खेलाडी मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएको र उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको देखिएको छ।

एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले एप्रोच गरेपछि एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन टिमका सदस्यबाट एप्रोच गरेको खुल्न आएको छ।

टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाई स्पट फिक्सिङ गरेको प्रहरीको भनाइ छ। ।

सिआइबीले नेपाल टी-२० लिगमा फिक्सिङ भएको घटनामा प्रमुख योजनाकार व्यक्ति जतिन अलुवालिया रहेको बताएको छ। लिग सुरू हुनु अघिदेखि नै बेटिङ (बाजी) र स्पट फिक्सिङको आशंका गरिँदै आएको थियो। लिग चलिरहँदा सिआइबीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको हो। जतिन अलुवालिया सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक समेत हुन्।  

सिआइबीले उनको विवरण हेर्दा पनि नेपालमा रहेका क्रिकेट क्षेत्रका व्यक्तिहरूसँग राम्रै चिनजान भएको बताएको छ।

उक्त लिगको मुख्य प्रायोजकको रूपमा वान एक्स ब्याट कम्पनी रहेको थियो।  बेटिङ गराउने कम्पनी वान एक्स बेटको सहायक कम्पनी रहेकाले पनि यसको आर्थिक स्रोत बेटिङ नै हो कि भन्ने प्रहरीको आशंका थियो। सिआइबीले यस लिगमा प्रत्‍यक्ष रूपमा क्यानको संलग्नता नरहेको स्पष्ट पारेको छ। तर यसमा क्यानको कमजोरी भने रहेको सिआइबीको निष्कर्ष रहेको छ।

भारतमा केही खेल खेलाउदै आएको भरमा क्यानले नेपालमा लिग खेलाउन दिनु नै क्यानको कमजोरी रहेको सिआइबीले बताएको छ।

प्रकाशित: १० माघ २०७९ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App