१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बार्सिलोनालाई अग्रता

मड्रिड- लुइस स्वारेज र मुनिर अल हादादीको गोलमा बार्सिलोनाले आइतबार स्पेनिस सुपर कप फाइनलअन्तर्गत पहिलो लेगमा सेभियामाथि २–० को नतिजा निकालेको छ। उरुग्वेका स्ट्राइकर स्वारेजले दोस्रो हाफको सुरुआतमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसअघि दुई राम्रा अवसर खेर फालेका स्वारेजले गोल गर्दै त्यसको क्षतिपूर्ति गरे भने मुनिरले अन्तिम ९ मिनेटअघि बार्सिलोनाको जित पक्का गरे। लियोनल मेसीले दिएको थ्रु बलमा मुनिरले गोल गरेका थिए।

गतवर्ष फाइनलको पहिलो लेगमा एथलेटिक बिल्बाओसँग ४–० को नतिजामा पराजित बार्सिलोना यसपालि त्यो नतिजामा सुधार ल्याउन प्रतिबद्ध थियो। त्यहीअनुसार नतिजा निकाल्दा टोली अगस्ट १७ मा घरेलु क्याम्प नोउमा हुने दोस्रो लेगका लागि सहज अवस्थामा पुगेको छ।

बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले आइतबार खेलाडी चयनमा आश्चर्यजनक निर्णय गरेका थिए। लेफ्ट ब्याकमा जेरेमी म्याथ्युलाई मौका दिएका उनले लेफ्ट विङ्समा पनि नेइमारको अनुपस्थितिमा आद्रा टुरानलाई खेलाए। इनरिकेले सिजन सुरु हुनुपूर्व सम्झौता गरेका सबै चार खेलाडीलाई आइतबार खेलाएनन्। तर राइट ब्याकमा एलेक्स भिडालको सट्टा सेर्गी रोबर्टोलाई खेलाएर उनले अर्को अनौठो निर्णय गरे।

पहिलो रोजाइमा नपरे पनि ३५ औं मिनेटमा लुकास डिग्ने र डेनिस स्वारेजले आधिकारिक खेलमा डेब्युको मौका पाए। जेरेमी म्याथ्युको ह्यामस्ट्रिङ तथा आन्द्रियास इनिइस्टाको घुँडामा चोट लागेपछि डिग्ने र स्वारेजलाई खेलाइएको थियो।

आइतबारको खेल बार्सिलोनाका लागि इनिइस्टाको ५ सय ९४ औं थियो। यो खेलपछि जाभी हर्नान्डेजपछि टोलीका लागि सर्वाधिक खेल खेल्नेको सूचीमा उनले कार्लोस पुयोललाई पछि पारे। तर ग्याब्रिअल मेसार्डोले कडा ट््याकल गरेपछि उनको यो उपलब्धि दुःखद रूपमा अन्त्य भयो।

बार्सिलोनाका प्रशिक्षक इनरिकेले सिजनको सुरुआत जितसाथ गर्न सक्नु सुखद पक्ष रहेको बताए। 'सेभियासँग उसकै मैदानमा खेल्नु सधैं कठिन काम हो। हामीले त्यो कठिन काम राम्ररी पार लगायौं,' इनरिकेले भने, 'यो जितले आउँदो पूरा सिजनका लागि हामीलाई उत्साही गर्नेछ। पहिलो लेगको यो अग्रताले घरमै हुने दोस्रो लेगलाई दबाब कम गरेको छ।'

प्रकाशित: ३२ श्रावण २०७३ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App