१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रदेश १ र सुदूरपश्चिम सत प्रतिशत जित निकाल्दै सेमिफाइनलमा

प्रदेश नं. १ र सुदूरपश्चिम इटहरीमा जारी पाँचौ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन्।

इटहरी वडा नं. ९ स्थित जनता क्रिकेट पार्क मैदानमा मंगलबार भएको पहिलो खेलमा कर्णाली प्रदेशमाथि १० विकेटको सहज जित निकाल्दै प्रदेश नं. १ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा सुदूरपश्चिमले एपीएफमाथि ४ विकेटको जीत दर्ता गयो। लगातार तेस्रो हार ब्योहोरेको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ।

मैदान ओसिलो भएको कारण ढिला सुरु भएको मंगलबारको पहिलो खेल ११ ओभरमा झारिएको थियो। जसमा कर्णालीले प्रदेश नं. १ लाई ४० रनको लक्ष्य दिएको थियो। कर्णालीले दिएको लक्ष्य प्रदेश नं. १ ले ४ ओभर ५ बलमा बिना विकेटको क्षतिमा ४० रन जोड्दै पूरा गर्‍यो। प्रदेश नं. १ का लागि प्लेयर अफ दि म्यान समेत भएकी कप्तान रुबिना क्षेत्रीले अविजित २२ रन जोडिन। काजल श्रेष्ठ १३ रनमा अविजित रहिन।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रन जोडेको थियो। कर्णालीका रमा बुढाथोकीले १८ रन जोडिन। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। प्रदेश–१ का ज्योति दनुवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १/१ विकेट लिइन।

मंगलबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराउँदै समूह विजेता बन्दै अन्तिम चारको यात्रा तय गरेको हो। एपीएफले दिएको ९२ रनको लक्ष्य सुदूरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर ९२ रन जोड्दै पूरा गर्‍यो। सुदूरका लागि डोली भट्टले सर्वाधिक ३३ रन बनाइन। ऋतु कजोनियाले १० रन जोडिन।

एपीएफका लागि नेरी थापाले ३ विकेट हात पारिन। त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो। एपीएफका लागि ममता चौधरीले अविजित रहँदै सर्वाधिक २६ रन बनाउँदा रोमा थापाले १५ र इन्दु वर्माले ११ रन जोडिन। ज्योति पाण्डे १४ रनमा आउट हुँदा कप्तान सीता राना मगर ४ रनमा आउट भइन।

सुदूरका लागि कविता जोशीले ३ तथा ऋतु कजोनियाले २ विकेट लिइन। यस जितसँगै सुदूरले समूह ’ए’ बाट ३ खेलमा शतप्रतिशत जीत सहित ६ अंकका साथ विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो।

एपीएफले भने ३ खेलमा ४ अंकका साथ समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुधबार हुने पहिलो खेलमा मधेस प्रदेश र लुम्बिनी बिच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ३ माघ २०७९ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App