१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्सनलका प्रशिक्षक आर्टेटाले गरे टोलीको प्रशंसा

टोटेनह्यामका समर्थकको आक्रमणपछि सहायक रेफ्रीसँग कुरा गर्दै आर्सनलका गोलकिपर आरोन राम्सडेल(बीच)।तस्बिर: एपी

गोलकिपर आरोन राम्सडेलमाथि समर्थकको आक्रमण भएको टोटेनह्यामविरुद्धको खेलपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले आफ्नो टोली साहसिक रहेको भन्दै प्रशंसा गरेका छन्।

उत्तरी लन्डन डर्बीमा आइतबार टोटनह्यामविरुद्ध २–० को जित निकालेपछि शीर्ष टोली आर्सनलका गोलकिपर आरोनमाथि टोटेनह्यामका समर्थकले आक्रमण गरेका थिए। खेलमा अन्तिम सिटी फुकिसकेपछि टोटेनह्यामका समर्थकले मैदानमा छिरेर आरोनमाथि लात्ती प्रहार गरेका हुन्। टोटेनह्यामका गोलकिपर ह्युगो लोरिसको आत्मघाती गोलबाट आर्टेटाको आर्सनलले अग्रता लिएको थियो। बुकायो साकाको क्रस बललाई लोरिसले आफ्नै पोस्टमा छिराए। आर्सनलको दोस्रो गोल मार्टिन ओडेगार्डले गरे। उनको लामो प्रहार गोलमा परिणत भएको हो। त्यो गोलसँगै आर्सनल पहिलो हाफमा २–० ले अगाडि रह्यो।  

दोस्रो हाफमा थप गोल हुन सकेन र आर्सनलले २–० को जित निकाल्यो। आर्सनलले सन् २०१३÷०१४ पछि पहिलोपटक टोटेनह्यामविरुद्ध दोब्बर अग्रतामा जित निकालेको हो। यस जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध आठ अंकको अग्रता बनाएको छ। तर, आर्सनलको जित उत्सव भने एक खराब गतिविधिका कारण खल्लो बन्यो। खेलसकिने बितिक्कै टोटेनह्यामका समर्थक मैदानभित्र प्रवेश गरेर आर्सनलका गोलकिपर आरोन राम्सडेलमाथि लात्ती प्रहारको प्रयास गरे। आरोन र टोटेनह्यामका रिचार्लिसनबीच झगडापछि उनले त्यो गरेका थिए।

‘टोटेनह्यामका समर्थकले भने दोस्रो हाफदेखि नै मलाई गिज्याइरहेका थिए। मैले पनि त्यसको जबाफ फर्काएको थिएँ। तर, उनीहरू मैदानमा नै प्रवेश गरे,’ आरोनले भने, ‘मेरा लागि यो तीतो अनुभव रह्यो। यद्यपि, ठूलो घटना भने हुन पाएन, त्यसैले खुसी छु।’ त्यो घटनापछि आर्सनलका प्रशिक्षक आर्टेटाले भने आफू सुन्दर खेल फुटबलको बारेमा मात्र बोल्ने बताए। ‘म सुन्दर खेलको बारेमा मात्र बोल्छु। जुन आज हामीले खेल्यौं। हरेक क्षेत्रमा हामीले केही नयाँ गर्ने प्रयास गर्‍यौं। मेरा खेलाडीले उत्कृष्ट खेले।’  

आर्टेटाले टोटेनह्यामविरुद्ध खेलपछि अर्को खुड्किलो चढेको उल्लेख गर्दै जुन तवरले खेल जितेको छ त्यो निकै आकर्षक रहेको बताए। टोटेनह्यामका प्रशिक्षक एन्टोनिओ कोन्टेले भने विपक्षी खेलाडीमाथिको आक्रमणप्रति निन्दा गरे। ‘यस्तो गतिविधि ठीक होइन। हामीले सधैं विपक्षी खेलाडीको सम्मान गर्नुपर्छ। त्यो घटना मलाई मन परेन,’ उनले भने। पाँचौं स्थानमा रहेको टोटेनह्याममाथि जित निकाल्दै आर्सनलले आफ्नो जितशैली एक कदम अगाडि बढाएको छ। सन् २०१९ मा टोटेनह्यामको नयाँ स्टेडियममा बनेपछि आर्सनलले यहाँ भएका तीनै खेल गुमाएका थियो। आइतबार भने आर्सनलका लागि सुखद रह्यो। लिगको पछिल्ला १२ खेलमा आर्सनल अपराजित छ। यो लय जारी राखे आर्सनलले सन् २००४ पछि प्रिमियर लिगको उपाधि जित्नेछ। पछिल्ला सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको म्यानचेस्टर सिटी पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ। अर्को टोली लिभरपुलको प्रदर्शन पनि निकै खराब रहेको बेला आर्सनलले भने लय जारी राख्दै आफूलाई शीर्षताको लागि बलियो बनाएको हो। यस सिजन लिगका १८ खेलमध्ये आर्सनलले १५ जित र दुई बराबरी आत्मसात् गर्दा एक मात्र हार बेहोरेको छ। आगामी खेल आर्सनलले म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै छ। यो खेल आर्सनलका लागि अर्को महत्वपूर्ण परीक्षा हुनेछ। किनकि युनाइटेडले पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। 

प्रकाशित: ३ माघ २०७९ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App