१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

हेल्प नेपाल र पुलिस च्याम्पियन

तीन पाकिस्तानी खेलाडी समावेश हेल्प नेपाल स्पोर्टस क्लब पुरुषतर्फ र विभागीय टोली नेपाल पुलिस क्लब महिलातर्फ आइतबार सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा हेल्प नेपालले साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फ च्याम्पियन बन्दा महिलामा पुलिसले पनि साबिक विजेता न्यु डायमन्ड स्पोटर््स क्लबमाथि ३–२ प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै उपाधि उचालेको हो।  

पुरुषतर्फको प्रतिस्पर्धामा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दा हेल्प नेपालले २५–२२, २६–२४ र २५–२३ को सेटमा जित निकालेको हो। यससँगै हेल्प नेपालले यसअघि सम्पन्न तीन प्रतियोगितामा फाइनलमा भोगेको हारको बदलासमेत लिएको छ। हेल्प नेपाल यसअघि आर्मीसँग क्लब च्याम्पियनसिप, क्लब लिग र टाइगर कपमा फाइनलमा पराजित भएको थियो। च्याम्पियन बनेसँगै हेल्प नेपालले नगद ४ लाख रूपैयाँ हात पारेको छ। यस्तै उपविजेता बनेको आर्मीले २ लाख रूपैयाँमा चित्त बुझायो। यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पुलिसलाई हराएको एपिएफले १ लाख रूपैयाँ हात पारेको छ।

यस्तै महिलातर्फको फाइनलमा भिडन्तमा पनि साबिक विजेता न्यु डाइमन्ड उपविजेतामा खुम्चियो। न्यु डायमन्डलाई पराजित गर्ने क्रममा पुलिसले पहिलो सेट २२–२५ ले गुमाएको थियो। पछि परे पनि सम्हालिएको प्रदर्शन गरेको पुलिसले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दा खेल १–१ सेटको बराबरीमा पुगेको थियो। तेस्रो सेट २५–२७ ले न्यु डायमन्डलाई सुम्पिएको पुलिसले चौथो सेट २५–१९ ले जित निकाल्दा खेल पाँचौं सेटसम्म लम्बिएको थियो। पाँचौँ तथा निर्णयक सेट पुलिसले १५–११ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो। यससँगै पुलिस २०६९ साल पछि प्रतियोगिताको च्याम्पियन बनेको छ। यससँगै पुलिसले यस प्रतियोगिताको उपाधि दोस्रो पटक उचालेको छ।  

रोमाञ्चक जित निकाल्दै च्याम्पियन बनेको पुलिसले उपाधिसँगै चार लाख रूपैयाँ प्राप्त गर्दा उपविजेता न्यु डायमन्डले दुई लाख रूपैयाँ प्राप्त गरेको छ। यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीलाई ३–२ को सेटमा पराजित गरेको एपिएफले नगद एक लाख रूपैयाँ हात पार्‍यो।  

पुस २६ गतेदेखि आयोजना भएको प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुवासर राजा सर्वोत्कृष्ट खेलाडी घोषित भए। सर्वोत्कृष्ट दुवैले जनही २५ हजार रूपैयाँ हात पारे। यस्तै विधागततर्फ सेटरमा महिलातर्फ पुलिसकी कमला पुन र पुरुषतर्फ आर्मीका हरिहजुर थापा उत्कृष्ट चुनिँदा डिफेन्सतर्फ न्यु डायमन्डकी सलिना श्रेष्ठ र हेल्प नेपालका दीपक थापा उत्कृष्ट घोषित भए। उत्कृष्ट सर्भर महिलामा आर्मीकी संगम महतो र पुरुषतर्फ हेल्प नेपालका मुवासर राजा बने। यस्तै महिलातर्फ एपिएफकी कविता भट्ट र पुरुषतर्फ नेपाल पुलिस क्लबका नवीन नगरकोटी उत्कृष्ट ब्लकर घोषित हुँदा उत्कृष्ट स्पाइकर महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली र पुरुषतर्फ आर्मीका धनबहादुर चुनिए। यस्तै उत्कृष्ट प्रशिक्षक महिलातर्फ नेपाल पुलिसका रूपेश विष्ट र पुरुषतर्फ हेल्प नेपालका उत्सव खड्का बने। विधागत उत्कृष्ट सबैले जनही १५ हजार रूपैयाँ प्राप्त गरे।

प्रकाशित: २ माघ २०७९ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App