१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्टस एकेडेमी जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली एपिएफ क्लबको चुनौती पन्छाउँदै फाइनलमा स्थान बनाउँदा न्यु डायमन्डले भने त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाएको हो। पहिलो सेमिफाइनलमा पुलिसले एपिएफलाई ३–२ को सेटमा हरायो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछिका दुई सेट एपिएफले २५–१७ र २५–२१ ले आफ्नो पार्‍यो। चौथो सेट पुलिसले २५–२१ ले जित्दै खेलमा २–२ को बराबरी गर्‍यो।

पाँचौं तथा निर्णायक सेट पनि पुलिस १५–७ ले सहजै आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाउन सफल भयो। पुलिसले साबिकको विजेता न्यु डायमन्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लिग चरणमा पुलिसले न्यु डायमन्डलाई पराजित गरेको थियो। त्यसैले फाइनलमा न्यु डायमन्डविरुद्ध उच्च मनोबलका साथ पुलिस कोर्टमा उत्रिनेछ। न्यु डायमन्ड पनि पुलिससँग लिगमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ। उपाधि यात्रा तय गर्ने क्रममा न्यु डायमन्डले आर्मीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–१ को सेटमा जित निकालेको हो।

पहिलो सेट आर्मीलाई १७–२५ ले सुम्पिएको न्यु डायमन्डले त्यस पछिका सेटमा लगातार जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो। न्यु डायमन्डले दोस्रो सेटमा २५–१९, तेस्रो सेटमा २५–१६ र चौथो सेटमा २५–१८ को सहज जित निकालेको थियो। आइतबार नै फाइनलका साथै तेस्रो स्थानका लागि एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फको प्रतिस्पर्धामा पनि फाइनलको समीकरण पूरा भएको छ। त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले क्रमशः एपिएफ र नेपाल पुलिसलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्। आर्मीले एपिएफलाई सोझो सेटमा नै हरायो।

आर्मीले पहिलो सेटमा २५–२३ को रोमाञ्चक जित निकाल्दा दोस्रो सेट र तेस्रो सेट समान २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। शनिबारै सम्पन्न अन्तिम सेमिफाइनलमा हेल्प नेपालले पुलिसलाई ३–१ को सेटमा हराउँदै आर्मीसँगको भेट पक्का गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसलाई हराउने क्रममा हेल्प नेपालले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट भने २६–२४ ले गुमायो। तेस्रो सेटमा २५–१७ को जित निकालेको हेल्प नेपालले चौथो सेट २५–२० ले गुमाउँदा खेल २–२ सेटको बराबरीमा पुग्यो।

अन्तिम तथा निर्णायक सेटमा हेल्प नेपालले १५–८ को रोमाञ्चक जित निकाल्दै आर्मीसँगको भेट पक्का गर्‍यो। आइतबार फाइनलका साथै तेस्रो स्थानका लागि एपिएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछन्। प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। पुरुष र महिला दुवै तर्फका च्याम्पियनले समान चार लाख रूपैयाँसहित उपाधि हात पार्नेछन्। दोस्रोले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रूपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रूपैयाँ प्राप्त गर्नेछन। 

प्रकाशित: १ माघ २०७९ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App