विभागीय क्लब एपीएफ र लुम्बिनी प्रदेश इटहरीमा जारी पाँचौँ प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।
शनिबार भएको दोस्रो दिनको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्यो। गण्डकीले दिएको सामान्य ५२ रनको लक्ष्य ८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। एपीएफको जितमा कप्तान सिता राना मगरले १९ रनको नकआउट पारि खेल्दा ज्योति पाण्डे ८ रनमा आउट भइन।
यसै गरी, रोमा थापा १४ रनमा नकआउट रहँदा इन्दू बर्मा र सरिता मगरले खाता खोल्न सकेनन्। गण्डकी प्रदेशकी सृष्टि जैशीले सबै ३ विकेट आफ्नो नाममा लेखाइन। त्यसअघि इटहरी वडा नं. ९ को जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थियो।
कप्तान सृष्टि जैशीले सर्वाधिक १४ रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुजाता थापा र कुसुम गोदारले ७–७ रन बनाए। एपीएफकी प्लेयर अफ दि म्याच सुमन विष्टले ३ विकेट लिँदा नेरी थापा, शुष्मा श्रेष्ठ, सिता राना मगर र राजमति ऐरीले एक एक विकेट लिए।
दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले हराउँदै सुखद सुरुवात गर्यो। लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८ ओभर १ बलमा अलआउट हुँदै ४९ रनमा समेटियो। कर्णालीका लागि यमुना थारुले १३ रन जोडिन। किरण कुँवरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
कर्णालीका ६ खेलाडी शून्य रनमा पेभेलियन फर्किएका थिए। लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३-३ विकेट हात पार्दा सुस्मिता भुसालले २ विकेट लिइन। त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन। सरस्वती पुनले अविजित ३० रन बनाउँदा आश्मा पुलामी मगरले १४ रन र रन्जु श्रेष्ठले १० रन जोडिन। कर्णालीका यमुना थारु र बिना थापाले २-२ विकेट लिइन। प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा एपीएफ र बागमती प्रदेशबिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा मधेस प्रदेश र कर्णाली प्रदेशबिच खेल हुनेछ।
प्रकाशित: ३० पुस २०७९ १८:०१ शनिबार