१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

रग्बी संघको अध्यक्षमा देवकोटा

नेपाल रग्बी संघको अध्यक्षमा दीपक देवकोटा निर्विरोध निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न संघको १०औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि देवकोटा संघका कार्यवाहक अध्यक्ष थिए। तत्कालीन अध्यक्ष टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा नियुक्त भएसँगै तत्कालीन उपाध्यक्ष देवकोटाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए।

साधारणसभाले वरिष्ठ उपाध्यक्षमा चेतनराज गिरी, महासचिवमा गोविन्द घिमिरे, सचिवमा विजय मोक्तान लामा र कोषाध्यक्षमा जे बी दीपक अधिकारीलाई निर्विरोध चयन गर्‍यो। त्यस्तै कामना गिरी, एलिसा थापा, रमेशप्रसाद भट्टराई, रविन केसी, हरिशंकर महतो र इन्द्रबहादुर तामाङ सदस्यमा चयन भए। उद्घाटन सत्रमा बोल्दै राखेपका सदस्यसचिव घिसिङले चीनको हान्झाओमा हुने १९औं एसियाडको तयारीका लागि गठन गरिएको हाइपर्ममेन्स कमिटीको माग ४ मा बस्ने बैठकले स्क्वास, रग्बी र टेनिसको समेत नियमित प्रशिक्षणको व्यवस्थाको निर्णय गर्ने बताए।

‘हामीमा भएका प्राय संघहरू राखेपको वार्षिक अनुदानमा निर्भर रहेका छन्,’ घिसिङले भने, ‘तर रकम विनियोजन भए पनि संघहरूले सोहीअनुरूपको नियमित कार्यक्रम तथा प्रशिक्षणको व्यवस्था गर्न सकिरहेका छैनन्। हामी आगामी साता बस्ने राखेपको बोर्ड बैठकबाट खेल संघहरूलाई समेत वर्गीकरण गर्नेछाैं।’ त्यस्तै जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले स्थानीय सरकारले पनि खेलकुदका लागि पर्याप्त बजेट छुट्याउने भएकाले रग्बी खेललाई विशेष प्राथमिकतामा राखेर संघसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू गर्न तयार रहेको बताए। 

प्रकाशित: ३० पुस २०७९ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App