coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सन्दीप लामिछाने कारागारबाट रिहा

तस्बिरः प्रशन गुरुङ / नागरिक

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन्। शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन्।  

सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिँदैछ। जिल्ला अदालतबाट तारिख बुझेर उनी रिहा हुनेछन्। उच्च अदालत पाटनले जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो।  उच्च अदालतले २० लाख धौरटी र १० शर्तसहित सन्दीपलाई रिहा गर्ने आदेश दिएको थियाे।

नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध मुद्दा रहेकाे थियाे। पीडित भनिएकी किशोरीका दाजुले गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएका थिए। जाहेरीमा लामिछानेले भदौ ५ गते बहिनीलाई नगरकोट घुम्न लगेको र त्यहाँबाट राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा ल्याएर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।

प्रहरीले भदौ २२ गते जाहेरी दर्ता गरी अनुसन्धान थालेको थियो। अनुसन्धानबाट पीडित भनिएकी नाबालिका र लामिछाने उक्त दिन राति सिनामंगलस्थित होटलमा बसेको पुष्टि भएको थियो। तर जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका थिए। मुद्दा लागेपछि केही समय त्यहाँबाट बेपत्ता भएका उनी नेपाल प्रहरीले इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरेपछि असोज २० गते नेपाल आएका थिए। प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।  

कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भएको थियो। बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो। त्यसयता लामिछाने केन्द्रीय कारागार सुन्धारामा छन्। जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध लामिछानले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।  

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखेको खण्डमा पनि बलात्कार मानिन्छ। ऐनको परिच्छेद १८ मा ‘करणीसम्बन्धी कसुर’ को व्यवस्था छ। दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिईकन करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ भन्ने लेखिएको छ।

प्रकाशित: २९ पुस २०७९ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App