मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगितामा अमेरिकाको भुट्निज स्पोर्टस् क्लव सेमिफाइनल प्रवेश गरेको छ।
बिहीबार भएको खेलमा ए डिभिजन क्लव हिमालन शेर्पालाई २–० ले हराउँदै भुट्निजले अन्तिम चारमा स्थान पक्का गरेको हो।
भुट्निजले दुवै गोल हेडमार्फत गरेको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै प्रविण बस्नेतको गोलमार्फत अग्रता लिएको थियो। भुट्निजका हेक्टरले मध्यभाग नजिकैबाट गरेको फ्रिकिक प्रहारलाई बस्नेतले हेडमार्फत पोष्टको दिशा दिएका हुन्। शेर्पाका गोलरक्षक दीप कार्कीले बल रोक्ने कुनै मौका नै पाएनन्। सुरुवातीमै गोल व्यहोरेपछि शेर्पाले निकै दवावपूर्ण खेल खेलेको थियो। ५२ औं मिनेटमा शेर्पाका विजय रुम्बाको सशक्त प्रहारलाई भुट्निजका गोलरक्षक पुजन थापा मगरले उत्कृष्ट बचाउ गरेका थिए। ८३ औं मिनेटमा भुट्निजले गोल अग्रता दोब्बर बनायो। हेक्टरले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्।
शेर्पाका खेलाडीले फाउल गरेपछि विशाल मगरले गरेको फ्रिकिक प्रहारमा गोलरक्षक कार्की अघि बढेको मौका छोप्दै हेक्टरले हेडमार्फत गोल गरेका हुन्। ८७ औं मिनेटमा शेर्पाले गोल अन्तर घटाउने मौका सदुपयोग गर्न सकेन। क्रसबाट आएको बललाई शेर्पाका कप्तान विश्वास श्रेष्ठले फितलो प्रहार गर्दा भुट्निजका गोलरक्षक मगरले सहजै नियन्त्रणमा लिए। विजेता भुट्निजका खेलाडी हेक्टर खेलको म्यान अफ द म्याच भए। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। अब भुट्निजले फाइनल प्रवेशको लागि जावलाखेल क्लवको सामना गर्नेछ।
जावलाखेलले आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई हराउँदै अन्तिम चारमा स्थान बनाइसकेको छ। जारी प्रतियोगितामा शुक्रबार अन्तिम क्वार्टरफाइनल खेल हुनेछ। शुक्रबार सशस्त्र प्रहरीको एपिएफ र संकटा क्लव खेल्नेछन्। माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। बागमती गाउँपालिका कार्यालयको मुखय प्रायोजन एवम् बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजना गोल्डकप हुँदै आएको हो। प्रतियोगिताको चौथो संस्करणको उपाधि थ्रीस्टार क्लवले जितेको थियो।
प्रकाशित: २८ पुस २०७९ १२:१६ बिहीबार





