९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

विराटनगर फराकिलो जितबाट दोस्रो क्वालिफायरमा

कप्तान रोहित पौडेल र हुसेन तलतको उत्कृष्ट साझेदारीमा विराटनगर सुपर किङ्स सोमबार काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै नेपाल ट्वान्टी-२० लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

दोस्रो विकेटका लागि रोहित र तलतले ९८ रनको विशाल साझेदारी गरेपछि विराटनगरले इलिमिनेटरमा काठमाडौंलाई स्तब्ध बनाउँदै दोस्रो क्वालिफायरमा जनकपुर रोयल्ससँग भेट पक्का गरेको हो। जनकपुर आइतबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरको सुरुआत राम्रो हुन सकेन। विराटनगरले पहिलो ओभरको अन्तिम बलमा गौरान्सु शर्मालाई १ रन र दोस्रो ओभरको अन्तिम बलमा अर्जुन साउदलाई २ रनमै गुमाउन पुग्यो।

त्यसपछि दबाबमा परेको विराटनगरले पाँचौं ओभरसम्म समालिएर खेल्यो। एक समय ५ ओभरमा विराटनगर २०/२ को अवस्था थियो। तर, पावर प्लेको अन्तिम ओभरमा रोहित र तलतले १८ रन जोड्दै आक्रामक शैली अपनाए।

काठमाडौंका अनिल खरेलले १३औं ओभरमा पाकिस्तानी ब्याटर तलतलाई ३८ रनमा आउट गर्दै यो साझेदारी तोडे। तलतले २३ बलमा एक चौका र तीन छक्का हिर्काए। यसै ओभरमा अनिलले अर्को विकेट पनि लिँदै काठमाडौंलाई खेलमा फर्काए। पृथु बास्कोटा १ रनमै आउट भए। एक छेउबाट रोहितले इनिङ समालिरहे। १६औं ओभरमा रोहित ६१ रनमा गौतम केसीद्वारा आउट भए।

उनले ४९ बलमा ६ चौका र दुई चौका हिर्काए। तर, छैटौं विकेटका लागि विराटनगरले दोस्रो ठूलो साझेदारी गर्‍यो। यस क्रममा विवेक यादव र राज नाननले ५३ रनको साझेदारी गर्दै टोलीलाई विशाल योगफलतर्फ अग्रसर गराए। आक्रामक ब्याटिङ गर्दै विवेक १८ बलमा समान ३/३ चौका र छक्कासहित ४६ रनमा नटआउट रहे। राज २३ रनमा इनिङको अन्तिम बलमा आउट भए। कमलसिंह ऐरीको बलमा आउट हुनुअघि उनले १७ बलमा १/१ चौका र छक्का हिर्काए। काठमाडौंका कमलसिंह र अनिलले दुई तथा अविनाश बोहोरा र गौतम केसीले समान एक विकेट लिए।

गौतमबाहेक काठमाडौंका सबै बलर महँगा साबित हुँदा विराटनगरले विशाल योगफल खडा गर्‍यो, जुन काठमाडौंले पूरा गर्न सकेन। १ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमा समेटियो। काठमाडौंका कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। उनीहरू विराटनगरका स्पिनरसामु निरीह बन्न बाध्य भए। स्पिनरद्वय सूर्य तामाङले चार तथा साहब आलमले दुई विकेट लिए।

वेस्ट इन्डिजका किओन जोसेफले दुई विकेट निकाल्दा पाकिस्तानी बलर तलतको नाममा एक विकेट रह्यो। काठमाडौंको पुछारका ब्याटर अविनाश बोहोराको नटआउट १६ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले १५, लोकेश बमले १३ र कमलसिंहले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् र टोली फराकिलो हार बेहोर्न बाध्य भयो। 

प्रकाशित: २६ पुस २०७९ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App