१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

सातौँ ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता हुने

विराट गोल्ड कप ट्रस्टले सातौँ ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

सोमबार विराटनगरमा ट्रस्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो। ट्रष्ट अध्यक्ष सन्तोष बानियाँले अब हुन लागेको गोल्डकपको सातौँ संस्करणको संयोजकका रुपमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला रहेको बताए।

उनले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महानगरवासीका साथै फुटबल प्रेमीको साथ सहयोग आवश्यक पर्ने बताए। विराट गोल्डकपले विराटनगरको पहिचान बोकेको बताउँदै, प्रमुख कोइरालाले भने, ‘यस प्रतियोगिताले विराटनगरको पहिचानका साथै खेल र खेलाडीको विकास हुनेछ। आर्थिक क्षेत्रलाई सहयोग पुर्‍याउन गोल्डकपलाई खेल पर्यटनका रुपमा अघि बढाउनु पर्छ।’ 

विगतको संस्करणभन्दा यस पटक पुरस्कार राशिमा वृद्धि गरेको बताउँदै, प्रतियोगिताका संयोजक तथा महानगरका प्रमुख कोइरालाले भने, ‘प्रतियोगिताको विजेताले २० लाख ५१ हजार र उपविजेताले १५ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। छैटों संस्करणमा विजेताले १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेका थिए।’ उनले प्रतियोगिताको संयोजक आफू भए पनि सम्पूर्ण गोल्डकपको जिम्मेवारी सहसंयोजकका रुपमा रहेका सुभाषिस कोइराला गर्ने बताए।

प्रतियोगिता आयोजनाको मिति तय नभए पनि आगामी चैत ६ देखि १४ गतेसम्म गर्नका लागि एन्फासँग समय माग गरेको सहसंयोजक सुभाषिस कोइरालाले बताए। उनले एन्फाले केही दिनभित्रै गोल्ड कप आयोजनाका लागि तालिका दिने छ। त्यसबिचमा प्रतियोगिताको आन्तरिक तयारी भने भइरहने सुभाषिस कोइरालाले बताए।

प्रतियोगितामा विराटनगरको एक घरेलु टोली, नेपाली ‘ए’ डिभिजन क्लब ५ वटा र २ वटा अन्तर्राष्ट्रिय क्लब रहने छ। २ वटा अन्तर्राष्ट्रिय क्लब यहाँका खेल प्रेमीका लागि ‘सरप्राइज क्लब’ हुने सहसंयोजक सुभाषे कोइरालाले जानकारी दिए।

विराट गोल्डकपको छैटौँ संस्करण विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) ले भारतको पञ्जाब पुलिस क्लबलाई १–० गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको थियो।

प्रकाशित: २५ पुस २०७९ १५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App