६ वैशाख २०८१ बिहीबार
खेल

एमेच्योर गल्फ आयोजना गर्न खुकुरी रमले धरान गल्फ क्लबलाई ११ लाख दिने

धरान गल्फ क्लबका सचिव भरत तामाङ (सबैभन्दा बाँया) र खुकुरी रमका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान (दाँया) सम्झौता पत्रमा हस्ताक्षर गरिसके पछि। तस्बिर: रोहित राई

खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिताको पहिलो सँस्करण भव्यरुपमा सफल भएपछि मुख्य प्रायोजकले प्रतियोगितालाई आगामी बर्ष पनि निरन्तरता दिने भएको छ।

प्रतियोगितालाई निरन्तरता दिन धरान गल्फ क्लब र खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरी प्रालिबीच सोमबार एक बर्षको सम्झौता भएको छ। धरान गल्फ क्लबमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा प्रतियोगिता गर्न प्रालिले क्लबलाई एक बर्षको लागि ११ लाख रुपैया दिने उल्लेख छ। क्लबले कुनै पनि प्रतियोगिता गर्न पाएको यो अहिलेसम्मकै धेरै रकम हो।

दुई दिने प्रतियोगिताको पहिलो सँस्करण यही शुक्रबार र शनिबार धरान गल्फ कोर्षमा सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा अहिलेसम्मकै धेरै एमेच्योर खेलाडीहरु ८६ जना सहभागी भएका थिए। प्रतियोगितामा धरान, काठमाण्डौं, पोखरा, मुस्ताङ, सिलगुडी र युकेबाट पनि आएका खेलाडीहरु सहभागी भएका थिए। ‘पहिलो सँस्करण धेरै भव्यरुपमा सम्पन्न भयो, र कम्पनीले प्रतियोगितालाई निरन्तरता दिदै अर्को बर्षको लागि सम्झौता गर्ने निर्णय गरेको छ,’ब्राण्ड मेनेजर प्रधानले भने।

उनका अनुसार प्रतियोगितालाई हरेक बर्ष नै निरन्तरता दिइनेछ। यसको लागि सम्झौता पनि बर्षेनी नविकरण हुने प्रधानले बताए। कम्पनीले भविष्यमा प्रोफेस्नल प्रतियोगिता आयोजना गर्नेबारे पनि सोचिरहेको उनको भनाई थियो। ‘कहिले गछौं टुंगो छैन, तर प्रोफेस्नल गल्फ प्रतियोगिता पनि आयोजनाको सम्भावना छ,’उनले भने।

क्लबका सचिव तामाङले पहिलो सँस्करणको सफलतापुर्वक सम्पन्न भएपछि प्रायोजक खुशी भएर अर्को बर्ष पनि निरन्तरता पाउने निश्चित भएको भन्दै खुशी व्यक्त गरे। उनले भने,‘पहिलो सँस्करण गर्न हामीले धेरै मेहनत गर्यौं । कोर्ष र गीनलाई धेरै सुधार गरेका छौं। त्यसैले धेरै खेलाडीहरु सहभागी भएका थिए, उहाँहरु पनि धेरै खुशी हुनुभयो । गल्फ खेलको विकास र खेलाडीहरुको लागि यो प्रतियोगिता धेरै महत्वपुर्ण हुनेछ।’

प्रकाशित: २५ पुस २०७९ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App