इटहरीमा पाँचौ प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरि प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिएको हो।
इटहरी वडा नं. ९ को जनता पार्कमा हुन लागेको खेलमा सातवटा प्रदेशका टीम र एपिएफ क्लब काठमाडौं गरि आठवटा टीमको सहभागिता रहनेछ। २० ओभरमा खेलाइने प्रतियोगिता लिग कम नकआउट फर्मेटमा खेलाईने भएको छ। आठवटा टीमलाई दुई भागमा विभाजन गरेर खेल खेलाइने सहआयोजक समिति जिल्ला क्रिकेट संघ सुनसरीका चेतनाथ पौडेलले बताए।
कूल १ करोड १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले ५ लाख पुरस्कार पाउँदा उपविजेताले ३ लाख पाउने छ। यस्तै, प्रतियोगितामा म्यान अफ दि सिरिज, सर्वोत्कृष्ट ब्याट्स म्यान र सर्वोत्कृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको लागि मैदान मर्मत सम्भार तथा अन्य प्राविधिक कामहरुको तयारी सुरु गरिएको सह आयोजक संस्थाका पौडेलले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजना तथा सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा हुन लागेको प्रतियोगिताले पूर्वको पर्यटनमा समेत टेवा पुग्ने र महिला खेलाडी उत्पादन गर्ने उद्देश्य राखिएको छ। इटहरीमा महिला क्रिकेट खेलाडीको उत्पादन गर्ने उद्देश्यले पछिल्ला वर्षमा राष्ट्रिय स्तरका गतिविधी पनि भइरहेका छन्।
प्रकाशित: १६ पुस २०७९ १०:५२ शनिबार





