२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

धरानमा दुई दिने खुकुरी एमेच्योर गल्फ हुने

धरानमा २ दिने खुकुरी एमेच्योर गल्फ प्रतियोगिता आयोजना हुने भएको छ। धरान गल्फ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै जनवरी ६ र ७ तारिखमा धरान गल्फ कोर्षमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो।

खुकुरी रम मुख्य प्रायोजक रहेको प्रतियोगिता आगामी बर्षहरुमा पनि निरन्तरता पाउने आशा गरिएको धरानका व्यवसायिक खेलाडी सविन सापकोटाले जानकारी दिए। प्रायः एमेच्योर गल्फ एक दिवसिय मात्र हुने गरेकोमा यो २ दिने हुन लागेको कारण महत्वपुर्ण प्रतियोगिता भएको उनले बताए। ‘यो युनिक प्रतियोगिता हो, बर्षेनी आयोजना हुनेछ भन्ने आशा पनि राखेका छौं,’ उनले भने,‘टिम फर्मेटमा २ दिन ३६ होल खेलिन्छ।’

पहिलो दिन १८ र दोस्रो दिन १८ होलको खेल हुनेछ। एक टिममा ४/४ जना खेलाडी हुनेछन्। प्रतियोगितामा ३ वटा ह्याण्डीक्याप क्याटोगरी बनाइने आयोजकले जनाएको छ। पहिलो क्याटोगरीमा ० देखि ९ ह्याण्डीक्याप खेलाडी हुने छन् भने दोस्रोमा १० देखि १८ ह्याण्डीक्याप र तेस्रोमा १९ ह्याण्डीक्यापदेखि माथिको खेलाडी हुनेछन्। प्रत्येक टिमबाट पहिलो हुने ४ जना, दोस्रो हुने ४ जना र तेस्रो हुने ४ जना विजेता हुने पनि सापकोटाले जानकारी दिए।

प्रतियोगितामा देशभरबाट ७० भन्दा बढी खेलाडीहरु सहभागी हुने अपेक्षा गरिएको आयोजक क्लबका सचिव भरत तामाङले जानकारी दिए। उनका अनुसार पहिलो दिन १८ होलको खेल सकिएपछि खेलाडीहरु कट आउट हुनेछन्। दोस्रो दिन मात्र ५२ जना खेलाडीहरुलाई सहभागी गराइने उनले बताए। ‘देशभरका खेलाडीहरु सहभागी हुनेछन्। यसले खेलाडीहरुमा आपसी सद्भाव पनि बढ्नेछ, र खेल क्षमता पनि बढाउनेछ,’उनले भने,‘यो प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य लिएका छौं।’

प्रतियोगितामा बेष्ट ग्रस, मोष्ट बर्डीज, नियरेष्ट टु दि पिन, लङ्गेष्ट ड्राइभ, होल इन वानलगायत पुरस्कार पनि दिइनेछ। नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनका महासचिव दिपक आचार्यले एमेच्योर गल्फ प्रतियोगितामा यो कोसेढुंगा हुने प्रतिक्रिया दिए। उनले भने,‘गल्फमा खुकुरीको यो प्रयास कोसेढुंगा हुनेछ। कर्पोरेट लेवलमा २ दिने प्रतियोगिता हुदैन, तर यहाँ हुन लागेको छ। यो प्रतियोगितामा देशैभरिबाट आउन खेलाडीहरु इच्छुक छन्।’

खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले खेलकुदको विकासको लागि कर्पोरेटस्तरबाट लगानी गरिएको बताए। ‘खेलाडीहरुले अवसर पाउनुपर्छ। पुर्व र पश्चिमका खेलाडीहरुबीच सम्बन्ध पनि बढोस्। नेपाली खेलाडीहरुले अन्र्तराष्ट्रिस्तरमा अवसर पाओस् भन्ने हाम्रो उद्देश्य हो,’उनले भने,‘पहिलो प्रयास गरेका छौं। प्रतिक्रिया सकरात्मक पायौं भने निरन्तरता दिनेछौं। अन्य खेलमा पनि लगानीको ढोका खुल्नेछ।’

प्रकाशित: १५ पुस २०७९ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App