४ वैशाख २०८१ मंगलबार
खेल

सुपर ओभरमा लुम्बिनीले मार्‍यो बाजी

श्रीलंकन ब्याटर लाहिरू मिलन्थाको ब्याटिङ प्रेरित लुम्बिनी अल स्टार्सले सुपर ओभरमार्फत फार वेस्ट युनाइटेडलाई स्तब्ध पार्दै जारी नेपाल ट्वान्टी-२० लिगमा चौथो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बुधबार लाहिरूले निर्धारित ओभर र सुपर ओभर दुवैमा लुम्बिनीका लागि अनुशासित ब्याटिङ गरे। सुपर ओभरमा लाहिरूकै दुई छक्काको प्रेरणामा लुम्बिनीले फार वेस्टविरुद्ध २० रनको लक्ष्य प्रस्तुत गर्‍यो। जुन लक्ष्य पछ्याएको फार वेस्टले १० रन मात्र बनाउन सकेपछि लिगको तेस्रो खेलमा दोस्रो हार बेहोर्‍यो। अफगानी ब्याटर हस्मतउल्लाहले सुपर ओभरमा फार वेस्टका किशोर महतोको पहिलो बलमा नै छक्का प्रहार गर्दै सहजै जित निकाल्ने संकेत गरे।

तर, त्यसपछि किशोरले कसिलो बलिङ गर्दै फार वेस्टलाई कुनै पनि बाउन्ड्री प्रहार गर्न दिएनन्। जारी लिगमा एक मात्र अपराजित टोली लुम्बिनीले अन्तिम ओभरमा पाँच रन जोड्न असफल भएपछि खेल सुपर ओभरतर्फ धकेलिएको हो। त्यसअघि निर्धारित २० ओभरमा लुम्बिनी १ सय ३८ रनको लक्ष्य पूरा गर्न असफल भएको थियो। डेथ ओभरको पहिलो बलमा नै करण केसीले दक्षिण अफ्रिकन ब्याटर साड्ले भान स्कलक्विकलाई ७ रनमा क्याच गर्दै लुम्बिनीलाई ठूलो झड्का दिए।

त्यसपछि स्पिनर सागर ढकाल क्रिजमा आए। करनले दोस्रो बल वाइड फ्याँके। फेरि दोस्रो बल फ्याँक्दा सागरले एक रन लिँदै लयमा देखिएका गुल्सन झालाई स्ट्राइक दिए। तथापि, करणको कसिलो बलिङमा गुल्सनले तेस्रो, चौथो र पाँचौं बलमा कुनै रन बटुल्न सकेनन्। जितका लागि लुम्बिनीलाई अन्तिम बलमा तीन रन आवश्यक हुँदा गुल्सनले दुई रन मात्र जोडेसँगै खेल ‘टाई’ भयो। तर, सुपर ओभरमा भने लुम्बिनीले बाजी मार्दै चौथो खेलसम्म अपराजित यात्रा कायम राख्यो। त्यसअघि लुम्बिनीले निर्धारित ओभरमा मध्यम लक्ष्य पछ्याउँदा निकै खराब सुरुआत गर्‍यो।

ओपनर सुनील धमला खाता नखोल्दै आउट भए। तर, अर्का ओपनर लाहिरूले इनिङ समाल्ने प्रयास गरे। तेस्रो विकेटका रूपमा आउट भएका लाहिरूले ३६ रन जोडे। त्यसपछि अनिल साह ९ रन, कप्तान दीपेन्द्रसिंह ऐरी ४ रन र हर्मित सिंह ३ रनमै आउट भए। एक समय १६.१ ओभरमा १०७/८ ओभरमा थियो। तर, नवौं नम्बरका ब्याटर गुल्सन झाले नटआउट ३६ रन बटुल्दै खेललाई जितनजिक पुर्‍याए। तथापि, अन्तिम ओभरमा पाँच रन भने बटुल्न सकेनन्।

फार वेस्टका करन र शेर मल्लले दुई विकेट तथा रासिद खान, उमेर अली, भुवन कार्की र हसमतउल्लाहले १/१ विकेट लिँदै मध्यम लक्ष्य जोगाए। तर, सुपर ओभरमा लुम्बिनीले बाजी मार्‍यो। त्यसअघि ओपनर देव खानको ४८ रन र तेस्रो नम्बरका ब्याटर हसमतउल्लाहको ३६ रन प्रेरणामा फार वेस्टले सय रनको आकडा पार गरेको थियो। लुम्बिनीका बलरले कसिलो बलिङ गर्दै फार वेस्टलाई ठूलो योगफल बनाउन रोके। साड्ले भानले दुई विकेट लिँदा हरमित, किशोर र सागरले १/१ विकेट लिँदै फार वेस्टलाई खुलेर खेल्न दिएनन्।

पोखरा एभेन्जर्सको चौथो हार

पोखरा एभेन्जर्सले जारी लिगमा चौथो हार बेहोर्दा विराटनगर सुपर किङ्सले पनि पहिलो जित आत्मसात् गरेको छ। यो खेलअघि दुवै टोली पहिलो जितको खोजीमा थिए।

तर, विराटनगरले पोखरामाथि ६ विकेटको जित निकाल्दै लिगको अंक खाता खोल्यो। १ सय ४० रनको लक्ष्य विराटनगरले चार विकेटको क्षतिमा सात बल बाँकी छँदा नै पूरा गर्‍यो। पाकिस्तानी ब्याट्सम्यान हुसेन तलातले अविजित ५० रनको इनिङ खेल्दै विराटनगरलाई सहज जित दिलाए। अलराउन्ड प्रदर्शन गरेका तलातले ३० बलमा चार चौका र एक छक्का हिर्काए। विवेक यादवले अविजित १५ रन जोड्दै उनलाई साथ दिए। यो जोडीले पाँचौं विकेटका लागि ४८ रनको साझेदारी गर्दै विराटनगरलाई पहिलो सफलता दिलाएका हुन्।

त्यसअघि ओपनरद्वय आन्द्रे म्याकर्थीले २१ रन र अर्जुन साउदले २५ रन जोड्दै विराटनगरलाई राम्रो सुरुआत दिलाए। यो जोडीले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। पोखराको बलिङमा कुशल मल्ल र शरद भेषावकरले समान दुई विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। खराब ब्याटिङ सामना गरिरहेको पोखराले सुरुआत राम्रो हुन सकेन। मध्यम अर्डरका सिद्धान्त लोहनीले २६ रन र कुशलले ३७ रन जोड्दै पोखराको इनिङ उकासेका थिए।

कप्तान उपुल थरंगाले १९ रन जोड्दा नवौं नम्बरका ब्याटर प्रतीश जिसीले चार बलमा नटआउट ११ रन बनाए। विराटनगरको बलिङमा राज नानन र तलातले दुई तथा नन्दन यादव, म्याकर्थी र साहब आलमले १/१ विकेट लिए।  

प्रकाशित: १४ पुस २०७९ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App