७ वैशाख २०८१ शुक्रबार
खेल

खेलाडीको लय खस्किने चिन्तामा क्लब

आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्ना खेलाडीहरूलाई कतार विश्वकप २०२२ को विश्राम अघिको लय कायम राख्न आग्रह गरेका छन्।

आर्सनल सन् २००४ पछि पहिलोपटक प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा छ। लिगका १४ खेलमा १२ खेल जितेको आर्सनल प्रिमियर लिगको अंकतालिकामा पनि शीर्ष स्थानमा छ। आर्सनलको ३७ अंक छ। जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले बढी हो। विश्वकप पहिलो पटक नोभेम्बर–डिसेम्बरमा आयोजना भएसँगै रोकिएको लिग सोमबारबाट सुरु हुँदै छ। क्लब, खेलाडी र समर्थकमा विश्वकप अघिको टोलीको लय विश्वकप सम्पन्न भएपछि कायम रहन्छ वा खस्कन्छ भन्ने चासो बढेको छ।  

आर्सनलका गाब्रियल जिजस यसअघि नै चोटका कारण तीन महिना टोलीबाट बाहिरिसकेका छन्। ब्राजिलका जिजसले घुँडाको चोटका कारण विश्वकपको अन्तिम १६ र क्वार्टरफाइनलको खेलसमेत गुमाएका थिए। क्यामरुनविरुद्ध समूहचरणको अन्तिम खेलमा १–० ले पराजित भएको खेलमा जिजस घुँडाको चोटका कारण बहिरिएका थिए। उनको घुँडाको शल्यक्रिया गरिएको र उनी करिब तीन महिना मैदान बाहिर रहने बताइएको छ। ब्राजिलले भने क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। आर्सनलले सोमबार घरेलु मैदान इमिरेट्समा वेस्टहमको सामना गर्नेछ।  

‘विश्वकप विश्राम अघिको लयमा टोली देखियोस् भन्ने म चाहन्छु,’अर्टेटाले भने, ‘हामीले लय कायम राख्न सके नतिजा पनि सहजै आफ्नो पक्षमा पार्न सक्छौं। टोलीमा छुट्टै उत्साह छ। हामीसामु २००४ पछि पहिलोपटक प्रिमियर लिग उपाधि जित्ने अवसर आएको छ। हामी त्यो अवसर गुमाउने पक्षमा छैनौं।’ दोस्रो स्थानको सिटीले भने बुधबार लिड्सको भ्रमण गर्नेछ। यता साउदी अरेबियाको लगानी भित्रिएसँगै उच्च लयमा देखिएको तेस्रो स्थानको न्युक्यासल युनाइटेडले सोमबार नै लेस्टर सिटीको सामना गर्नेछ। यता चौथो स्थानको टोटनहमले ब्रेन्टफोर्डको सामा गर्नेछ भने पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडले मंगलबार नटिङ्घम फरेस्टविरुद्ध खेल्नेछ।  

शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने दौडमा आर्सनल र सिटीबाहेक न्युक्यासल, टोटनहम र युनाइटेड छन्। टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे विश्वकपमा पेनाल्टीको अवसर गुमाए पनि इङ्ल्यान्डका कप्तान ह्यारी केन स्वभाविक लयमै रहेको बताउँछन्। केनले फ्रान्सविरुद्धको क्वार्टरफाइनलमा पेनाल्टीको अवसर गुमाएका थिए। जुन खेलमा इङल्यान्ड २–१ ले पराजित भएको थियो। लिभरपुलले भने सोमबार एस्टन भिल्लाविरुद्ध खेल्नेछ भने चेल्सीले बर्नामाउथविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

प्रकाशित: १० पुस २०७९ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App