२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

मेसी सर्वकालीन सर्वोत्कृष्ट

लियोनल मेसी सर्वकालीन खेलाडी हुन् वा होइनन् भन्ने विवाद आइतबारबाट औपचारिक रूपमै समाप्त भएको छ।  

ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनासँग बेलाबखत मेसीको तुलना नभएको होइन। तर क्लब फुटबल र कोपा अमेरिका तथा सात पटक बालन डी’ओर अवार्ड जिते पनि विश्वकप जित्न नसक्दा मेसीलाई पेले र म्याराडोनासँग तुलना गर्नु गलत थियो भन्ने आवाजसमेत उठ्दै आएको थियो।

तर आइतबार साबिकको विजेता फ्रान्समाथि पेनाल्टी सुटआउटमा निकालेको जितले ३५ वर्षका मेसीलाई जित्न बाँकी एक मात्र उपाधि विश्वकप चुम्न सफल बनायो। त्यसो त मेसी स्वयम्ले कतार विश्वकप नै आफ्ना लागि अन्तिम हुने बताइसकेका थिए। यस पटक पनि उपाधि जित्न नसकेको भए मेसी सायदै सर्वकालीन खेलाडीमा गनिन्थे।  

क्लब फुटबलमा मेसीले ३७ वटा ट्रफी जिते, सात पटक बालन डी’ओर र ६ पटक युरोपियन गोल्डेन बुट। साथै कोपा अमेरिका र ओलम्पिकमा स्वर्ण पदक। त्यसमाथि गोलका केही कीर्तिमान। तर एउटै अभाव विश्वकपको उपाधि।  

लुसेल स्टेडियममा एक सय २० मिनेट चलेको खेलले पनि विजेताको टुङ्गो लगाउन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा मेसी र उनको टोली भाग्यमानी साबित भए अनि गोलकिपर इमानियोल मार्टिनेज सो जितका नायक।  

विश्वपकको फाइनलमा अन्तिम पटक प्रतिस्पर्धा गरिरहेका मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमानसमेत राखे। उनका लागि फ्रान्सविरुद्धको खेल २६औं थियो। निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिँदा मेसीले दुई गोल गरेका थिए।  

फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेको ह्याट्रिकले पनि मेसीलाई विश्वविजेता बन्नबाट रोक्न सकेन। ‘पछिल्लो दुई दशक विश्व फुटबलमा निरन्तर लियोनल मेसीको जादुमयी प्रदर्शन हेर्ने अवसर जुर्‍यो,’ इङ्ल्यान्ड र बार्सिलोनाका स्ट्राइक ग्यारी लिंकरले  

ट्विट गरेका छन्, ‘भगवानले मेसीलाई फुटबल खेल्नकै लागि पठाएका हुन्।’ ‘लियोनल मेसी, सर्वकालीन सर्वोत्कृष्ट,’ इङ्ल्यान्डकै मिडफिल्डर डेक्लान रिसले भने, ‘अब हामीले सायदै मेसीजस्ता अन्य कुनै खेलाडी देख्नेछौं।’

मेसी के साँच्चै सर्वकालीन खेलाडी हुन् ? भन्ने चर्चा सुरु भएको पनि दशकाैं भइसकेको छ। मेसी सर्वकालीन खेलाडी हुन् भन्ने प्रमाणित गर्दै कतार विश्वकप २०२२ ले आइतबारबाट बिट मारेको छ।

ब्राजिलका पेलेले तीन पटक विश्वकप जितेका छन्। उनी दुई पटक जित्ने सबैभन्दा कान्छो खेलाडी हुन्। उनले २१ वर्षको उमेरमा दुई पटक विश्वकप जितेका थिए। पेलेको व्यावसायिक खेलजीवन पनि सधैँ उत्कृष्ट रह्यो।  

यता म्याराडोनाले १९८६ मा विश्वकप जितेका थिए। बार्सिलोना र नेपोलीबाट व्यावसायिक खेल खेलेका म्याराडोनाले क्लबलाई कहिल्यै पनि युरोपियन च्याम्पिपयनसिप जिताउन सकेनन्। यद्यपि विश्वकपको सफलताले नै उनलाई पेलेसँगै विश्व फुटबलको सर्वकालीन खेलाडी बनायो। पेले र म्याराडोनासँग मेसी तथा उनका चिर प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको तुलना हुने गरेको थियो।

प्रकाशित: ५ पुस २०७९ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App