१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आज देखाउलान् त मेस्सीले जादु ?

तस्बिर: मेस्सीको फेसबुकबाट।

दक्षिण अमेरिकाको दक्षिणमा अवस्थित करिब ५ करोड जनसङ्ख्या भएको देश अर्जेन्टिना आज खुसीले झुमिरहेको छ। विश्वमै सर्वाधिक हेरिने फुटबल खेल 'विश्व कप'को आज अन्तिम खेल हुँदैछ।

आइतबार हुने खेलमा यदि फ्रान्सलाई हराएर अर्जेन्टिनाले विश्व कप जित्छ भने मेस्सीको नाम पेले र डिएगो म्याराडोना जस्ता दिग्गज खेलाडीको सूचीमा दर्ता हुनेछ।

सात पटक बलोन डिओर, ६ पटक युरोपियन गोल्डेन सुज (रेकर्ड), बार्सिलोनासँग रेकर्ड ३५ उपाधि, ला लिगामा ४७४ गोल, एक क्लब (बार्सिलोना) का लागि सर्वाधिक ६७२ गोल गरिसकेका मेस्सीको सपना अब विश्व कप जित्नु छ। यो उनका लागि अन्तिम मौका हो, त्यसैले यसलाई स्मरणयोग्य बनाउनका लागि उनले कुनै कसर बाँकी राख्न चाहँदैनन्।

अर्जेन्टिनाले जब अन्तिम पटक सन् १९८६ मा विश्व कप जिते तब म्याराडोना देशका लागि भगवान बने। उनको वरिपरि पुग्न सक्ने मेस्सी मात्रै थिए तर विश्व कप जित्न नसकेका कारण उनको महानतामाथि प्रश्न उठिरहे।

त्यतिबेला पनि उठ्यो जब सन् २०१४ मा फाइनलमा जर्मनीले अर्जेन्टिनालाई एक गोलले हराएको थियो। प्रश्न त्यतिबेला पनि उठे जब यो विश्व कपको पहिलो खेलमा नै साउदी अरबले मेस्सीको टिममाथि अप्रत्याशित जीत हासिल गर्यो। तर त्यो हारले अर्जेन्टिना र मेस्सीमा थप निखार ल्यायो भन्दा फरक पर्दैन। प्रत्येक खेलमा दुबैको प्रदर्शनमा निखार आयो र पछिल्लो उपविजेता क्रोएशियालाई एकतर्फी सेमिप्रतिस्पर्धामा हराएर ऊ यसपटक फाइनलमा पुग्यो। यो जीतका सूत्रधार पनि मेस्सी नै रहे जसले ३४ औँ मिनेटमा पेनाल्टीमाथि पहिलो गोल दागे र त्यसपछि जुलियन अल्वारेजको दुबै गोलमा सूत्रधारको भूमिका निभाए।

मेस्सीले विश्व कपको इतिहासमा अर्जेन्टिनाका लागि सर्वाधिक ११ गोल गरिसकेका छन्। बार्सिलोनाका लागि लगभग सबै उपाधि जितिसकेका पेरिस सेन्ट जर्मेनका यी स्टार स्ट्राइकरले सन् २००४ मा बार्सिलोनासँग आफ्नो क्लब करियरको सुरुवात १७ वर्षको उमेरमा गरे।

उनले २२ वर्षको उमेरमा पहिलो बलोन डिओर जिते। अगस्ट सन् २०२१ मा बार्सिलोनाबाट बिदा लिनु अघि उनले क्लब फुटबलको लगभग सबै रेकर्ड आफ्नो नाम गरिसकेका थिए।

मेस्सीकाे विश्व कपमा पदार्पण सन् २००६ मा जर्मनीमा सर्बिया र मोन्टेनिग्रोविरुद्ध ग्रुप म्याचमार्फत् भएकाे हाे। यो खेल हेर्नका लागि म्याराडोना पनि मैदानमा थिए। १८ वर्षका मेस्सी ७५ औँ मिनेटमा सब्स्टिच्युटको रुपमा मैदानमा उत्रिएका थिए।

बेइजिङ ओलम्पिक सन् २००८ मा अर्जेन्टिनाले फुटबलको स्वर्ण पदक जित्दा सन् २०१० विश्व कपमा मेस्सीबाट अपेक्षा बढ्यो। अर्जेन्टिनालाई क्वार्टर फाइनलमा जर्मनीले हरायो र पाँच खेलमा मेस्सीले एक गोल पनि गर्न सकेनन्। चार वर्षपछि ब्राजिलमा एक्लो दममा टिमलाई फाइनलमा पुर्याउने मेस्सीले आफ्नो आँसु रोक्न सकेनन् जब उनको टिम एक गोलले हार्यो।

त्यसपछि सन् २०१८ मा रुसमा पहिलो नकआउट म्याचमा अर्जेन्टिनालाई फ्रान्सले ४–३ ले हरायो र तीनमध्ये दुई गोल मेस्सीको नाममा थियो। पछिल्लो चार वर्षमा यी खेलाडीले एउटै मात्र सपना देखे – विश्व कप जित्ने। क्वार्टर फाइनलमा पाएको जीतपछि मेस्सी आफैँले भनेका थिए, ‘डिएगोले आकाशबाट हामीलाई हेरिरहेका छन् र विश्व कप जित्नका लागि प्रेरित गरिरहेका छन्। अन्तिम खेलसम्म उनले यस्तै गरिरहनु हुनेछ भन्ने आशा छ।’

प्रकाशित: ३ पुस २०७९ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App