८ वैशाख २०८१ शनिबार
खेल

नष्ट गर्नेगरी बनाइएको ‘स्टेडियम ९७४’

सुमन नैसाथाम 

कतार विश्वकप फुटबलमा प्रयोग गरिएका सातमध्ये एक रंगशाला ‘स्टेडियम ९७४’ खेल सकिएसँगै नष्ट गर्ने गरी बनाइएको छ। यो रंगशालाको दर्शक क्षमता ४० हजार रहेको छ। यो रंगशाला बनाउँदा सामुद्रिक ढुवानीमा प्रयोग हुने ९७४ वटा कन्टेनर तथा स्टिल सिट राखिएका छन्।

कतारको अन्तर्राष्ट्रिय टेलिफोन कोडअनुसार नामकरण गरिएको यो रंगशालामा वातानुकूलित नभएका  कारण साँझका खेलहरू मात्र खेलाउने गरिएको छ। गत शुक्रबार सर्बियालाई स्विट्जरल्यान्डले परास्त गरेको खेलका क्रममा यो रंगशालामा अत्यधिक आर्द्र (हुमिड) भएकाले अन्यमा भन्दा बढी गर्मी थियो। पुनर्प्रयोग गर्न सकिने सिपिङ कन्टेनर र स्टिलले बनाइएका कारण यो रंगशालालाई खेल समाप्तिसँगै नष्ट गर्ने तयारीमा खेल आयोजक रहेको छ।  

कतारका सम्बद्ध अधिकारीका अनुसार प्रतियोगिता सकिएपछि यसप्रकारका संरचनाको आवश्यकता रहेको देशलाई यी सामान उपलब्ध गराउन सकिनेछ। रंगशालाको डिजाइनलाई लिएर बाह्य विज्ञले समेत प्रशंसा गरेका छन् तर खेलको समाप्तिसँगै यी संरचनालाई भविष्य के हुने भन्ने विषयमा अझै पर्याप्त जानकारी नभएको बताएका छन्।

‘विघटन गर्न सकिने हिसाबले गरिने डिजाइन नै दिगो बिल्डिङको आधाभूत सिद्धान्त हो,’ यसअघिका विश्वकपमा जलवायु परामर्शदाताका रूपमा काम गरेका तथा लन्डनमा रहेको चाथन हाउस नाम गरेको थिंक ट्यांका एसोसिएट फेलो करिम इल्गेन्डी बताउँछन्। यसो गर्दा निर्माणस्थललाई प्राकृतिक रूपमा पूर्ववत् अवस्थामा राख्न सकिने तथा अर्को प्रयोजनका लागि प्रयोग गर्न सकिने तर्क गर्दै इल्गेन्डी थप्छन्, ‘तर दिगो निर्माण भनेर घोषणा गर्नुअघि धेरै पक्षहरूलाई हेर्नुपर्ने हुन्छ।’

विश्वको ४० प्रतिशत कार्बन उत्सर्जनमा भवनहरूको हिस्सा छ, जसमध्येको १० प्रतिशत हिस्सा भवन निर्माण, मर्मत सम्भार तथा भत्काउने कार्यले लिने गरेका छन्। त्यसो त विश्वकपका लागि आवश्यक रंगशाला, मेट्रो लाइन्स र अन्य संरचना निर्माणमा सहभागी आप्रवासी कामदारलाई थोरै तलब दिएको र प्रतिकूल अवस्थामा काम गराएको आरोप कतारमाथि छ। उता कतारले पछिल्ला वर्ष श्रम कानुनका उल्लेख्य संशोधन भएको दाबी गरेको छ।  

स्टेडियम ९७४ को डिजाइनमा सहभागी आर्किटेक्ट फेनविक इरिबारेनका अनुसार रंगशालालाई प्रतियोगितापछि ‘सेतो हात्ती’ नबनाउन नष्ट गर्न लागिएको हो। यसअघि दक्षिण अफ्रिका, ब्राजिल र रुसमा आयोजना गरिएको प्रतियोगितका क्रममा बनाइएको रंगशालाको अवस्थालाई हेरेर यसप्रकारको रंगशालाको निर्माण गरिएको उनको तर्क छ।

यो रंगशालाबाहेक अन्य ६ वटा रंगशालाको नियमित प्रयोगको योजना बनाएको कतारको दाबी छ। कतिपय रंगशालामा दर्शक बस्ने सिटहरू हटाउने तयारी छ। विभिन्न रङका सिपिङ कन्टेनर यो रंगशाला निर्माणका आधारभूत संरचना हुन्। यिनै कन्टेनरमा आधारित रहेर शौचालय, बस्ने स्थानलगायत अन्य भित्री संरचना बनाइएका छन्।  यो रंगशाला भत्काएपछि कहाँ लगिने तथा कहिले भत्काउने भन्नेबारे कतारले थप विवरण उपलब्ध गराएको छैन। यो रंगशालामा प्रयोग भएको संरचनाले अन्य स्थानमा समान प्रकारको रंगशाला बनाउन सकिने अथवा यसबाट अन्य ससाना रंगशाला निर्माण गर्न सकिने तर्क आयोजकको छ। यी सामानलाई हजारौं किलोमिटर टाढा ढुवानी गर्दा निस्कने उत्सर्जन पनि अर्को चिन्ताको विषय रहेको छ।  

कतारमा भइरहेको विश्वकपको दिगोपनसम्बन्धी योजनाबारे अनुसन्धान गरेको वातावरणीय समूह कार्बन मार्केट वाचका अनुसार यी सरसामान कति टाढासम्म पु¥याइन्छ भन्ने विषयले सम्भावित कार्बन उत्सर्जनको यकिन गर्न सकिनेछ। फिफा र कतारले पनि एक प्रतिवेदनमार्फत यो विषयलाई स्वीकार गरेका छन्। रंगशालालाई ७ हजार किलोमिटरभन्दा कम दूरीमा स्थानान्तरण गरेर एकपटक मात्र पुनप्र्रयोग गरिए यसले स्थायी रंगशालाले भन्दा कम उत्सर्जन गर्नेछ। यसैगरी यसलाई एकपटकभन्दा धेरै प्रयोग गर्ने सके यसले स्थायी रंगशालाभन्दा कम प्रदूषण गर्ने तर्क आयोजकको छ। नयाँ रंगशालामा प्रयोग हुने ऊर्जाको प्रकृतिले पनि प्रदूषणलाई निर्धारण गर्ने मानिन्छ।  

विश्वकप आयोजनाको मुख्य जिम्मा लिएको डेलिभरी तथा लेगासी कमिटीले प्रतियोगितापछि यो रंगशालालाई के गरिनेछ भन्ने विषयमा कुनै प्रत्युत्तर दिएको छैन। यो रंगशाला भत्काउँदा र सिपिङ गर्दा लाग्ने ऊर्जाको समेत लेखाजोखा हुनुपर्ने तर्क जलवायु परामर्शदाता करिम इल्गेन्डीको छ।  

वातावरणीय हिसाबले जेजस्तो भए पनि दर्शकमाझ भने यो रंगशाला अन्यन्त लोकप्रिय छ। अत्याधुनिक र औद्योगिक स्वरूप रहेको यो रंगशालामा खेल हेर्न आउने सबै दर्शकले फोटो र सेल्फी खिच्ने गरेका छन्। यो अस्थायी संरचनामा आधारित रंगशालामा सातवटा प्रतियोगिता हुनेछन्। सोमबार ब्राजिल र दक्षिण कोरियाबीच हुने खेल यही रंगशालामा हुँदैछ।  

कतारमा विगत पाँच वर्षदेखि बसोबास गर्दै आएकी फिलिपिन्सकी झोनारेल मिनोजाले यो रंगशालाबारे आफूले धेरै सुनेको बताउँछिन्। ‘मलाई यो रंगशाला कसरी निर्माण गरियो भनेर ठुलो कौतूहलता थियो। म जब यो रंगशालामा पुगे, मैले चाखपूर्वक त्यसलाई नियालें। यो साँच्चै फरक डिजाइनमा छ,’ उनले भनिन्।  

(एपी न्युजबाट)

प्रकाशित: १९ मंसिर २०७९ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App