नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले इनिङको आधा समय सकिँदा मिश्रित प्रदर्शन गरेको छ।
सुरुवाती चरणमा ब्याटिङ लाइनअप ध्वस्त भए पनि मध्यक्रममा पवन सर्राफ र कप्तान सोमपाल कामीले इनिङ सम्हाल्ने प्रयास गरेका छन्। १० ओभरको समाप्तिमा कर्णालीले ४ विकेट गुमाएर ६० रन बनाएको छ।
कर्णालीको सुरुवात निकै खराब रह्यो। पावरप्लेभित्रै टोलीले २९ रन जोड्दा ४ महत्वपूर्ण विकेट गुमाइसकेको थियो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदै कर्णालीलाई दबाबमा राखे। प्रियंक पञ्चाल (०), विलियम बोसिस्टो (३) र नजिबुल्लाह जद्रान (१) सस्तैमा समेटिए भने मार्क वाटले १० बलमा १७ रन बनाएर आउट भए।
२९ रनमा ४ विकेट गुमेको अवस्थाबाट पवन सर्राफ र सोमपाल कामीले टोलीलाई उकास्ने प्रयास गरिरहेका छन्। अहिले क्रिजमा पवन सर्राफ २० बलमा २५ रन र सोमपाल कामी १३ बलमा १२ रन बनाएर खेलिरहेका छन्।
जितका लागि कर्णालीलाई अब बाँकी ६० बलमा ८० रन आवश्यक छ। सुदूरपश्चिमका बलरहरूले कसिलो बलिङ गर्दै खेलमा पकड बनाइराखेका छन्।
प्रकाशित: ८ मंसिर २०८२ १९:०३ सोमबार





