१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङ अदालतमा १८ महिना पुराना मुद्दाको अवस्था शुन्य

ताप्लेजुङ जिल्ला अदालतले लगत लक्ष्य र फर्स्यौट लक्ष्य दुबैमा निर्धारित लक्ष्यको आँकडा पार गरेको छ । २ वर्ष र १८ महिना नाघेको मुद्दालाई शुन्यमा झार्दै अदालतको रणनीतिक योजनामा समेत सफलता पाएको छ । जिल्ला न्यायाधीश विकास श्रेष्ठको उपस्थितिमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा पत्रकार भेटघाट कार्यक्रममार्फत अदालतका श्रेष्तेदार मनोज बरालले आव २०८१/८२ मा ताप्लेजुङ जिल्ला अदालतबाट भएको कार्य सम्पादनको अवस्था बारे जानकारी गराएका हुन् ।  

श्रेष्तेदार बरालका अनुसार अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ सय २७ तथा आव २०८१/८२ मा नयाँ लगतको रुपमा दर्ता भएका ४ सय ५२ गरी कुल ५ सय ७९ थान मुद्दा थिए । अदालतले आव २०८१/८२ मा ४ सय २१ थान मुद्दा दर्ता हुने अनुमान गरेकोमा मुद्दाको नयाँ लगत संख्या भने ४ सय ५२ पुग्यो । जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका गरी कुल मुद्दाको लगत ५ सय ४८ थान हुने अदालतको अनुमान रहेकोमा मुद्दाको जम्मा लगत ५ सय ७९ थान पुगेको हो । जम्मा लगतमध्ये आव २०८१/८२ भित्रमा कुल ३ सय ७५ थान मुद्दा फर्स्यौट गर्ने लक्ष्य पार गर्दै अदालतले जम्मा लगतमध्ये ४ सय २० थान मुद्दा फर्स्यौट गरेको जनाएको छ ।  

१ सय ५९ थान मुद्दा आर्थिक वर्ष २०८२/८३ का लागि जिम्मेवारी सरी आएका छन् । अदालतले लगतका आधारमा र लक्ष्यका आधारमा समान ६८ प्रतिशतको अनुमान आँकडा तयार गरेकोमा फर्स्यौटका हिसावले क्रमशः ७२.५३ र ७७.६४ प्रतिशत फस्र्यौट गरी दुबैमा अनुमान भन्दा बढी नतिजा हासिल गरेको जनाएको छ । अदालतले २०८२ साल असार मसान्तसम्ममा २ वर्ष नाघेका १७ तथा १८ महिना नाघेका ४७ थान मुद्दा फर्स्यौट गर्दै उल्लेखित दुबै अवधि पार गरेका मुद्दाको संख्यालाई शुन्यमा झारेको छ ।  

आव २०८०/८१ बाट २०८१/८२ का लागि जिम्मेवारी सरी आएका १ सय २७ थान मुद्दामध्ये अदालतले आव २०८१/८२ मा १ सय २० थान मुद्दा फस्र्यौट गर्दै बाँकी ७ थान मुद्दा आव २०८२/८३ का लागि जिम्मेवारीमा सारेको छ । निबेदन प्रतिबेदनतर्फ जिम्मेवारी सरेका ३ सहित १ सय २६ थानको लगत रहेकोमा अदालतले निवेदन प्रतिवेदन तर्फको सबै लगत फस्र्यौट गर्दै शतप्रतिशत नतिजा हासिल गरेको छ ।  

विगत ५ आर्थिक वर्षको मुद्दाको तुलनात्मक अवस्थाका आधारमा भने आर्थिक वर्ष २०८१/८२ को फस्र्यौट नतिजा आव २०७७/७८ र २०७९/८० भन्दा केहि सुधार तथा आव २०७८/७९ र २०८०/८१ भन्दा केहि कमजोर देखिएको छ । अदालतका अनुसार आव २०७७/७८ मा ६९.२ प्रतिशत तथा आव २०७९/८० मा ७०.१४ प्रतिशत फस्र्यौट भएको थियो । ताप्लेजुङ जिल्ला अदालतले आव २०७८/७९ मा ७८.९२ प्रतिशत र आव २०८०/८१ मा ७४.३४ प्रतिशत मुद्दा फस्र्यौट भएको थियो । आव २०८१/८२ मा फस्र्यौट प्रतिशत ७२.५३ पुग्यो । आव २०८०/८१ मा २ बर्षे बाँकी मुद्दा ३ थान थिए । 

प्रकाशित: ३२ असार २०८२ १८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App