फागुन ३० गते सप्तरीको तिरहुत गाउँपालिका–२ वडहराबाट प्रहरीले १ सय ११ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गर्यो। कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२ ०१ –००१ ह ००२२ नम्बरको अटो रिक्सा रोकेर चेकजाँच गर्दा उक्त परिमाणमा लागूऔषध गाँजा बरामद भएको थियो।
तीन वटा सेतो रंगको बोराभित्र कालो प्लास्टिकमा प्याक गरिएको तयारी गाँजासहित प्रहरीले कञ्चनरुप नगरपालिका ७ का अटो चालक ४२ वर्षीय जामुन महतो र सोही ठाउँ निवासी अटोमा सवार २८ वर्षीय कविता कुमारी माझीलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।
चैत १ गते सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १ –०२ –०५ ३ प ४२७५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकल सवारले बोकेको झोलाबाट लागूऔषध ट्याब्लेट र सिरप बरामद भयो। लागूऔषध सिरप २० बोतल, र १० वटा ट्याब्लेटसहित सिरहा मिर्चैया नगरपालिका ८ मझाउका २६ वर्षीय जितेन्द्र कुमार महतोलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।
फागुन ३० गते पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको बस पार्कबाट काठमाडौंतर्फ गइरहेको ना १ ज २७६५ नम्बरको टाटा सुमोको छतमा त्रिपालले छोपेर राखिएको रातो रंगको झोला र बोराभित्र लुकाइएको ५२ हजार ३०० लागूऔषध ट्याब्लेट बरामद गर्यो।
उक्त लागूऔषध काठमाडौंतर्फ लगिरहेको आरोपमा प्रहरीले बारा परमानीपुर गाउँपालिका १ का ४२ वर्षीय रामअशिष राउत र पर्सा बहुदरमाई नगरपालिका २ का ३० वर्षीय सुभाष सर्राफलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु कार्कीले जानकारी दिए।
मधेस प्रदेशको सप्तरी, सिरहा र पर्साका प्रहरीले पछिल्लो समय लागूऔषधसहित पक्राउ गरेका यी व्यक्तिहरू उदाहरण मात्र हुन्। लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा महिनैपिच्छे थुप्रै पक्राउ पर्दै आएका छन् तर दिनानुदिन कारोबार बढिरहेको छ।
लागूऔषधका कारोबारीहरूले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाबाट निस्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो।
भारतीय सहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागूऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ। भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षा दृष्टि पुर्याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखन लगायत कारणले मधेस प्रदेश लागूऔषध कारोबारीको अखडा बन्दै आएको छ।
सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला मार्फत पहाडी जिल्ला र राजधानी लगायत धेरै सहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय लहान, सिरहा, गोलबजार, कुसहा, राजविराज, बर्दिबास, जनकपुरधाम, लगायत सहर हुँदै अन्यत्र ओसारपसार हुने लागूऔषध र कारोबारी संख्या धेरै भएको लागूऔषध नियन्त्रण अभियन्ताहरू बताउँछन्।
डरलाग्दो तथ्यांक
पछिल्लो तीन वर्षको मात्र तथ्याङ्क(आर्थिक वर्ष २०८०/८१ देखि ०८२/८३ फागुनसम्म) केलाउँदा लागूऔषधसहित २ हजार ४८८ जना पक्राउ परेका छन्। जसमा नेपाली पुरुष २ हजार ९७ र महिला ८७ छन्। भारतीय पुरुष ८२० जना र महिला ९ जना रहेको प्रहरी तथ्याङ्क छ।
प्रहरीका अनुसार मधेस प्रदेशमा दैनिक औसत दुई जना लागूऔषधसहित पक्राउ पर्ने गरेका छन्। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुुसार आर्थिक वर्ष २०७७/७८ मा लागूऔषधसहित ९९९ जना व्यक्ति पक्राउ परेका थिए। आर्थिक वर्ष २०७८/७९ मा यो संख्या बढेर एक हजार २८५ पुग्यो। आर्थिक वर्ष २०७९/८० मा भने बढेर एक हजार ३०४ व्यक्ति लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
२०८०/८१ मा भने १ हजार १०४ व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। २०८१/८२ मा ८३६ जना लागूऔषधसहित पक्राउ परेको प्रहरीको तथ्याङ्क छ। २०८२/८३ को फागुनसम्म ५४८ जना लागूऔषधसहित पक्राउ परेका छन्।
पक्राउ परेकाहरू प्रायः ३० वर्षमुनिका छन्। उनीहरूबाट गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनका साथै अरू लागूऔषध बरामद भएको छ। चालु आर्थिक वर्षको फागुन महिनासम्म प्रहरीले आठ वटा जिल्लाबाट १० हजार ०९८ किलो गाँजा, २७२ किलो ५४३ ग्राम चरेस, २ हजार ३ सय ९० ग्राम २ हजार ३ सय ७१ मिलिग्राम हेरोइन, ३७९ ग्राम ९०२ मिलिग्राम ब्राउन सुगर, २ लाख २२ हजार ८६९ ट्याब्लेट, एक हजार ९२ बोतल र १५ हजार ६७१ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा छ। खुला सीमाका करण भारतबाट शरीरका विभिन्न भागमा लुकाएर, मोटरसाइकलको ट्यांकी तथा खाद्यान्नको बोरामा लुकाएर समेत लागूऔषध ल्याउने गरिएको प्रहरी अधिकारीहरू बताउँछन्।
लागूऔषधको लत
चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधिहरू बढी मुनाफाको लोभमा सीमापारिका औषधि बिक्रेताले गर्दा वारि दुर्व्यसनीको बिगबिगी बढ्दै गएको सीमावर्ती माड्रमा भेटिएका रफिकले बताए। ‘सीमावर्ती क्षेत्रमा भने नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउने गर्छन्,’ उनले भने, ‘प्रहरीको आँखा छलेर सेवनकर्ताहरू दिनहुँ जसो वारिपारि गर्छन्। कारोबारी सीमामा तैनाथ सुरक्षाकर्मीलाई मिलाएरै लागूऔषधको खेप लगाउँछन्, ओपन सेक्रेट यस्तै छ।’
खराब संगत, पारिवारिक किचलो र डिप्रेसन, अभिभावकको निगरानी नहुनुको फाइदा उठाउँदै कुलतमा फस्ने युवा÷किशोरको संख्या बढिरहेको सीमावर्ती बरियारपट्टीका रामफल यादव बताउँछन्। ‘छोराछोरी लागूऔषधको कुलतमा लागेको जान्दाजान्दै बेइज्जत हुने डरले कतिपय अभिभावक चुप बस्छन्,’ उनले भने, ‘पछि उसको चालचलन थेग्न नसक्ने अवस्था आएपछि प्रहरीलाई केही दिन थुनिदिन भन्दै गुहार लगाउँछन्। यतिले पनि नसुध्रे सुधार केन्द्र पुर्याउछन्।’
अहिले गाउँघरमा युवा तथा किशोरहरू आफन्तको सम्पर्कभन्दा टाढा बस्न रुचाउँछन् । ‘एक्लै झोक्रिएर बस्ने। झर्किएर बोल्ने। यी सबै कुलतमा फसेका युवाहरूका लक्षण हुन्,’ रामफल भन्छन्, ‘अहिले गाउँघर लागूऔषधको दलदलमा भासिँदै गएको छ। यस्ता व्यक्तिलाई यसबाट छुटकारा दिलाउन कानुनी कारबाही मात्रले सम्भव छैन। सबैभन्दा पहिले उनीहरूको समस्या पहिचान गर्नु जरुरी छ।’
यसको कानुनीसँगै मनोपरामर्शात्मक उपचार पनि आवश्यक रहेको उनी बताउँछन्। अहिले कक्षा १० का किशोरहरू पनि लागूऔषधको लतमा फसेको पाइएको छ। सानै उमेरका किशोरहरू लागूऔषधको दुर्व्यसनमा फस्नुका पछाडि उनीहरूको संगत मात्रै मुख्य कारण देखिन्न, कतिपय अवस्थामा अभिभावकको कमजोरीले पनि उनीहरू लहैलहैमा दुर्व्यसनको दलदलमा फसिरहेको देखिन्छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआइजी गोविन्द थपलियाले पछिल्ला वर्षमा मधेसमा लागूऔषध ओसारपसार र सेवन बढ्दै गएको स्वीकार गरे। ‘सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिन्छ,’ उनले भने, ‘यसका लागि स्वयं अभिभावक र समाज पनि सचेत र चनाखो बन्नु जरुरी छ ।’ मधेस प्रदेश प्रहरी कार्यालयले मातहतका सबै प्रहरीलाई सेवनकर्ताहरूको हकमा सुधारात्मक कारबाही चलाइरहेको छ। कारोबारीको हकमा नियन्त्रणमा लिएर कडा कारबाही अघि बढाउने गरी अभियान नै सञ्चालनमा ल्याइएको डिआइजी थपलियाले बताए ।
कसिलो सञ्जाल
मधेस प्रदेशका आठ वटै जिल्लाको सिमानाका सामान्य रूपमा खुला भएको अवस्थामा दैनिक यहाँबाट पारि पुगेर लागूऔषध बोकेर फर्किनेको संख्या बढी छ। लागूऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेशअन्तर्गतका सीमावर्ती जिल्लाबाट निस्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो। भारतीय सहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागूऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ।
भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षा दृष्टि पुर्याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायत कारणले मधेस प्रदेश लागूऔषध कारोबारीको अखडा बन्दै आएको छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामार्फत पहाडी जिल्ला र राजधानीलगायत धेरै सहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरी स्रोतको भनाइ छ।
मधेस प्रदेशसभामा लागूऔषधको फैलिँदो सञ्जाल र यसले मधेसी समाजमा पारिरहेको प्रभावबारे भर्खरै रास्वपाबाट प्रतिनिधिसभा सदस्य बनेका पुरुषेत्तम यादवले आवाज उठाउँदै आएका छन्। लागूऔषधले मधेसी समाज दलदलमा भासिँदै गएको प्रति उनले ध्यानाकर्षण गराएका छन्। मधेसका युवाहरु लागूऔषधको दलदलमा भासिँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले सुधारात्मक र नियन्त्रणात्मक कारबाही अघि बढाउनुपर्ने बताए।
मधेसका गाउँ सहरमा प्रयोगकर्ता पहिलेभन्दा धेरै बढेको छ, कारोबारी पनि बढ्दै गएका छन्। यस प्रदेशका गाउँ सहर लागूऔषधको ट्रान्जिटका रूपमा बढी प्रयोग भइरहेको छ। ज्यादै ठुलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार दुई–चार जना कारोबारी समातेको भरमा तोड्न कठिन रहेको सामाजिक अभियन्ताहरू बताउँछन्। लागूऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजार बीचको मुख्य ट्रान्जिट मधेस प्रदेशका सीमावर्ती सहरहरू हुँदै आएका छन्।
प्रहरीले केही समयको फरकमा लागूऔषधसहित मानिसहरू समात्न थालेको लामो समय भइसकेको छ। तर कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन्झन् बढ्दो छ। यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन्। खुला सिमानाका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको प्रहरी अधिकारीहरूको कथन छ।
सहज बाटो, सजिलो कारोबार
पछिल्लो समय गाउँगाउँमा सडक र सवारीको पहुँच बढेको छ। गाउँघर सहरजस्तो बजारीकरण भएसँगै लागूऔषधको जालो पनि फैलँदो छ। सीमावर्ती गाउँदेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागूऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण मधेसका युवापुस्ता लागूऔषधको डरलाग्दो भुमरीमा फसिरहेका छन्। लागूऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रकाशित: ७ चैत्र २०८२ १४:२१ शनिबार





