१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

गुँला पर्वको बिडो धान्दै युवा

नेवार समुदायको महत्त्वपूर्ण पर्व गुँला पर्व शुक्रबार सुरु भएको छ। नेपाल संवत् ११४५ को दसौँ महिना अर्थात् गुँला शुक्रबार सुरु भएको छ। धार्मिक गुणले भरिएको मान्यतासहित गुँला महिनाभरि नेवार समुदायका बूढापाकाहरू बुद्ध भगवानको पूजाआजा गर्छन्।  

महिनाभरि विभिन्न पर्व पर्ने महिना भएकोले यसलाई गुणकारी महिनाको रूपमा लिइन्छ। नेवार समुदायका बौद्ध अनुयायीहरू बाजा बजाउँदै नवग्रन्थ पाठ पढेर बौद्ध विहार तथा चैत्यहरूमा पुगेर पूजाआजा गरी नाचगान गर्छन्। जसको सुरुवात शुक्रबार भएको छ। घरपरिवारमा बूढापाकाले बजाउने बाजा युवामा पुस्तान्तरण भएको छ। युवाहरू रमाएर हौसलासाथ गुँला बाजा बजाएर स्वयम्भूनाथको चैत्यमा नाचगान गरी पूजापाठ गरेर भगवान् बुद्धलाई खुसी बनाउन प्रयत्नमा जुटेका भेटिए।  

यसै कारण होला, शुक्रबार बिहान स्वयम्भूमा बूढापाका र युवायुवतीहरूको समूह गुँला बाजा बजाउँदै नवग्रन्थ पाठ गरिरहेको भेटियो। बिहानको गुँला बाजाको मधुर धुन र ध्वनिले स्वयम्भूनाथको वातावरण सकारात्मक र ऊर्जावान् बनेको थियो।  

स्वयम्भूमा भेटिएका १८ वर्षीय सजु मानन्धर धाः (ढोलक) बजाउँदै आफ्नो गुठी ‘सना खलः’ का सदस्यसँगै खुसीसाथ स्वयम्भू भगवानको भर्‍याङ चढिरहेका थिए। साइबर सेक्युरिटी विषयमा स्नातक अध्ययन गरिरहेका सजु आफ्नो पुर्खाले चलाएको पर्व र संस्कृतिलाई जोगाउने जिम्मा युवाकै हातमा रहेको बताउँछन्। 

‘म सानो छँदा बाबासँग गुँला पर्व मनाउन स्वयम्भू चैत्य जाने गर्थेँ। धाः बाजाको ध्वनिले मेरो मन शान्त हुन्छ। यसैकारण शुक्रबार मेरो पालो नभए पनि म स्वयम्भू गएँ। आज मैले धाः बजाउँदा बाजाको ध्वनिले सकारात्मक ऊर्जा मिलेको महसुस भयो,’ उनले खुसी हुँदै अनुभव सुनाए, ‘दिनभरि राम्रो र सकारात्मक ऊर्जा मिलेको महसुस भयो। काम गर्न शक्ति मिलेको मलाई लागिरहेको छ। हाम्रो हरेक पर्व र संस्कृति वैज्ञानिक छन्, यसलाई हामीले जोगाउनुपर्छ। अरू बेला ढिलो उठ्ने म आज बाजा बजाउनुपर्छ भनेर बिहान ५ बजे उठेर गुठीमा पुगेको थिएँ।’  

शुक्रबार काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदायले खुसी साट्दै गुँला पर्वको शुभारम्भ गरे। स्वयम्भूमा शुक्रबार बिहानदेखि नै विभिन्न गुठीका सदस्यले मन्त्र पढ्दै, बाजा बजाउँदै, कोही बाँसुरी बजाएर भगवान् बुद्धलाई आराधना गरिरहेका थिए। स्वयम्भू माथि चैत्यमा पुगेर केहीबेर परिक्रमा गरी नाचगान गरेर नवग्रन्थ वाचन गरेपछि तल झरेको दृश्यले विदेशी पर्यटक पनि रमाएका थिए। कोही फोटो खिच्न व्यस्त थिए त कोही भिडियो बनाउन।  

भाषा तथा संस्कृतिका अध्येता र भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरका अनुसार गुँला महिना गर्मीको महिना पनि हो। पानी पर्ने महिना भएकोले पानीजन्य विपद्बाट आउने आपत् र जोखिम बढ्ने र गर्मीका कारण लाग्ने रोगबाट मानिसलाई जोगाउन भगवान् बुद्धलाई पूजापाठ गरेर लोककल्याणका लागि प्रार्थना गर्न पनि गुँला बाजा बजाउने मान्यता छ। ‘गुँला महिना धान रोपाइँपछि फुर्सदको महिना हो। यो महिनामा नागपञ्चमी, जनैपूर्णिमा, गाईजात्रा, पञ्चदान, बाबुको मुख हेर्ने पर्व पर्छन्,’ भाषा तथा संस्कृतिविद् मानन्धरले नागरिकसँग भने, ‘पानीजन्य विपद् बाढी, पहिरो, चट्याङ नआओस् र हानि नहोस् तथा रोग नलागोस् भन्ने उद्देश्यले नेवार समुदायका बुद्धका अनुयायीले यो महिनाभरि भगवान् बुद्धको विहार, चैत्यमा बाजा बजाएर पूजाआजा गरी परिक्रमा गर्छन्।’  

उनले थपे, ‘फुर्सदको महिना भएकोले विगतमा घरका बूढापाकाले मनाउने यो पर्व पछिल्लो समय युवा पुस्तामा हस्तान्तरण भएको छ। पर्व र संस्कृति संरक्षणको बिडो युवाले उठाएका छन्।’ भाषा तथा संस्कृति अध्येता मानन्धरका अनुसार विगतमा धाः बाजा महिलाले छुन र बजाउनुहुन्न भन्ने मान्यता पछिल्लो युवा पुस्ताले तोडेर क्रान्ति ल्याएका छन्। ‘केही वर्षयता टोलटोलका गुठीमा सदस्यले आफ्ना सन्तानलाई गुँला पर्वमा बजाइने गुँला बाजा धाः, भुस्या, बाँसुरीलगायतका बाजा बजाउन सिकाइरहेका छन्,’ मानन्धर भन्छन्, ‘यो पर्वमा वज्रयानी बौद्धको प्रमुख ग्रन्थ नवग्रन्थको पाठ पनि यही महिनाभरि बौद्ध विहार तथा चैत्यमा गरिन्छ।’  

महिनाको अन्त्यमा सबै गुठीयारले आ-आफ्नो हैसियतअनुसार भोज गर्छन्। सबै परिवारका सदस्य मिलेर एकै ठाउँमा खाना खाएर रमाइलो गर्दा एकताको सन्देश पनि यो पर्वले दिने गरेको उनले जनाए।  

नेपाल संवतमा १२ महिना हुन्छन्। पहिलो कछला, दोस्रो चिँला, तेस्रो पोहेला, चौथो सिल्ला, पाँचौँ चिल्ला, छैटौँ चौला, सातौँ बछला, आठौँ तछला, नवौँ डिल्ला, दसौँ गुँला, एघारौँ ञला र बाह्रौँ महिना कौला पर्छ। पाँचौँ महिना चिल्लादेखि गर्मी महिना सुरु हुन्छ। वर्षाको महिना गुँला भएकोले यसबाट उत्पन्न हुने आपत् र रोगव्याधिबाट परिवार, समुदाय तथा सम्पूर्णलाई बचाउन गुँला पर्व मनाइने धार्मिक मान्यता छ।

प्रकाशित: ९ श्रावण २०८२ १९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App