पलाँता गाउँपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ।
पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कम्लेस विकको गत भाद्रमा सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएपछि पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन माग गर्दै सिंहदरबार पुगेका छन्।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको अभावमा गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित हुँदै आएको छ।
प्रशासनिक नेतृत्व नहुँदा नागरिकले सहज रूपमा सेवा पाउन नसकेको र पालिकाका नियमित कामकाजसमेत प्रभावित भएको पाइएको छ।
प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पहल गर्दा समेत मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नखटाएपछि अध्यक्ष रोकाया दैनिक सिंहदरबार नै पुगेका हुन्।
प्रशासकीय अधिकृत नभएपछि गाउँपालिकाका कर्मचारीहरूले दुई महिनादेखि तलब भत्ता समेत खान पाएका छैनन्। पालिकाको विकास तथा योजनासमेत प्रभावित हुने अवस्था सिर्जना भइसकेको छ।
आर्थिक, प्रशासनिक कामका साथै विकास निर्माणका कामहरू ठप्प भएको वडा अध्यक्ष तिलक बुढाले बताए।
सम्बन्धित निकायले समयमा ध्यान नदिँदा गाउँपालिकामा निकै धेरै समस्या देखिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौमा प्रमुख प्रशासकीय अधिकृत रेशम कुमार खत्रीलाई सरुवा गरेको थियो।
खत्रीले दुर्गममा पहिला सेवा गरेकाले आफू नजान मुद्दा गरेपछि उनको ठाउँमा अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गाउँपालिकाको कामकाज अस्तव्यस्त भएको छ।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा योजना कार्यान्वयन, आर्थिक कारोबार, कर्मचारी व्यवस्थापन लगायतका महत्त्वपूर्ण काम ठप्पजस्तै भएको जनप्रतिनिधिहरूको गुनासो रहेको छ।
कार्यालयको महत्त्वपूर्ण निर्णय पनि कार्यालय प्रमुखको अभावमा हुन नसकेको बताइएको छ।
पालिकामा ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बाल पोषणको रकम पाउनबाट पनि स्थानीय वञ्चित भएका छन्।
दसैँ, तिहारको अवसरमा पनि पलाँताका कर्मचारी र लाभग्राहीहरूले तलब भत्ता पाउने सम्भावना कम हुँदै गएको छ।
प्रकाशित: १७ कार्तिक २०८३ १३:०९ मंगलबार





