१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

डोल्पा कारागारबाट भागेका दुई कैदी पक्राउ, ६ जना अझै फरार

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीबन्दीको खोजीमा जुटेको प्रहरीले दुई जनालाई रुकुम पश्चिमबाट पक्राउ गरेको छ।

कारागारबाट भागेको चार दिनपछि उनीहरू मंगलबार बिहान आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्।

उनीहरू गत शुक्रबार राति डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका थिए।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजेतिर खोली बगरबाट आठबिसकोट–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिपमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा जिपमा रहेका दुई जना भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनीहरू डोल्पा कारागारबाट फरार कैदीबन्दी भएको पुष्टि भएको राठौरले बताए।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा थप प्रक्रियाका लागि प्रहरी चौकी गोतामकोटमा राखिएको छ।

उनीहरूको खोजीका लागि चौरजहारी बेस क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा पाँच सदस्यीय टोली परिचालन गरिएको थियो।

कारागारबाट एकै पटक आठ कैदीबन्दी फरार भएका थिए। दुई जनालाई नियन्त्रणमा लिए पनि अन्य छ जना अझै फरार छन्।

उनीहरूको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App