१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

पक्राउ परिन खानेपानी मन्त्री यादवलाई धम्की दिने युवती

 खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।

मन्त्री यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनगरी धम्की दिने वीरगञ्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मन्त्री यादव र मेयर सिंहलाई फोन गरी ज्यान मार्ने धम्की दिएको विषयमा सोधपुछका लागि किरणलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार फोनमा गोली ठोकी हत्या गर्ने धम्की दिएको गुनासो मन्त्री र मेयरबाट आएपछि सामान्य सोधपुछका लागि किरणलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।  

वीरगञ्जमा फैलिएको हैजाको संक्रमणका कारण युवतीका पितासहित परिवारका अन्य सदस्यहरू गम्भीर बिरामी भई अस्पतालको सघन कक्षामा भर्ना भएको विषयलाई लिएर मन्त्री यादव र मेयर सिंहलाई फोन गरेको र कुराकानीको क्रममा ज्यान मार्ने धम्की दिएको गुनासो आएपछि आवश्यक अनुसन्धानका लागि किरणलाई नियन्त्रणमा लिइएको प्रवक्ता लम्सालले जानकारी दिए ।  

खानेपानी मन्त्रीलाई फोनगरी किरणले अभद्र रूपमा कुराकानी गरेको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रबारदेखि नै भाइरल भएको छ ।

प्रकाशित: १४ भाद्र २०८२ १७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App