२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

बालेनको सरकार बने जनता बोल्न पाउँदैनन्: प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले बालेन्द्र शाह सत्तामा आए जनताको वाक स्वतन्त्रता खोसिने चेतावनी दिएका छन्।

आइतबार प्रहरी परिसरमा बयान दिएर निस्कने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै प्रसाईंले नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै निरंकुशताको अभ्यास सुरु भएको आरोप लगाए।

प्रसाईंले भने, ‘अहिले त यत्तिको दमन छ भने, भोलि पर्सि रास्वपाले भोट जितेर यो बालेन सरकार आयो भने यिनीहरूको विरुद्धमा कोही पनि बोल्न पाउँदैन।’

प्रसाईंले सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउने अभिव्यक्ति दिने समूहलाई बालेन र रास्वपाले संरक्षण गरेको आरोप समेत लगाए।

साथै, प्रसाईंले आफूलाई झुक्याएर प्रहरीले बयान लिएको गुनासो समेत गरे।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रसाईंले भने, ‘मैले केही छ भनेर सोधेको, केही पनि छैन त्यत्तिकै आउनु न भनेर प्रहरीले बोलाउनुभयो। यहाँ आएपछि भएभरको बयान लियो। आजदेखि घुमाएर तारिखमा राखियो। अब २८ गतेलाई तारिख तोकिएको छ।’

प्रसाईंले भोलि चितवनमा हुने आफ्नो र्‍याली र सभालाई बिथोल्न र प्रभावित पार्न प्रहरीले आफूलाई नियोजित रूपमा दुःख दिएको आरोप लगाए।

उनले भने, ‘देश जोगाउने, राष्ट्र जोगाउने र हिन्दु अधिराज्यको पक्षमा हुन लागेको चितवनको कार्यक्रमलाई अहिले नै प्रभावित पार्न मलाई यहाँ ल्याएर दुःख दिइयो।’ 

प्रकाशित: १८ माघ २०८२ १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App