क्याफेमा काम गरेको निहुँमा इटहरीमा सोमबार राति एक महिलाको हत्या भएको छ। इटहरी उपमहानगरपालिका–१२ मा २५ बर्सिया अनिसा भट्टराईको आफ्नै श्रीमान सुमन दाहाल (३०) ले हत्या गरेका हुन्। खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भएका दाहालले काठको आगलो प्रहार गर्दा घाइते भएकी अनिसाको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुभाष हमालले जानकारी दिए।
घटनाक्रमअनुसार दाहाल हाल खोटाङमा राहत शिक्षकका रूपमा कार्यरत छन् भने श्रीमती अनिसा शिक्षक सेवा आयोगको तयारीका लागि इटहरीमा डेरा गरी बसेकी थिइन्। सुरुमा इटहरी–४ हलगढामा बस्दै आएका उनीहरू केही दिनअघि मात्र इटहरी–१२ मा सरेका थिए। त्यही क्रममा अनिसाले क्याफेमा काम गर्न थालेकी थिइन्। श्रीमतीले आफ्नो अनुमति बिना काम गरेको विषयमा विवाद बढ्दा दाहालले आगलो प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विवाहपछि दम्पतीबिच निरन्तर खटपट रहँदै आएको थियो। धनकुटा माइती भएकी अनिसा लामो समयदेखि इटहरीमै बस्दै आएकी थिइन्। चाडपर्वको बिदा पारी श्रीमान सुमन केही दिनअघि मात्रै इटहरी आएका थिए।
घटनापछि सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित: १४ आश्विन २०८२ १५:४९ मंगलबार





