२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

जथाभावी ढल र साँघुरो बहाव क्षेत्रले डुब्दै काठमाडौं

सानो वर्षा हुनेबित्तिकै काठमाडौंका विभिन्न क्षेत्र जलमग्न हुने गरेका छन्। यो समस्या हरेक वर्ष वर्षायाममा दोहोरिने गरेको छ। थोरै पानी पर्दा पनि तीनकुने, माइतीघर मण्डला, कोटेश्वरलगायतका सडक जलमग्न हुने गर्छन्।

सडक विभागका कर्मचारीका अनुसार भारी वा अति भारी वर्षा त परको कुरा, मध्यम वर्षा हुँदा पनि काठमाडौंका सडक डुब्ने गर्छन्। यसको प्रमुख कारण सडक विभागले वर्षाको पानी निकासका लागि निर्माण गरेका नाला र मङ्गलमा स्थानीय तह, वडा कार्यालय तथा खानेपानी तथा ढल व्यवस्थापन विभागले जथाभावी ढल जोड्नु रहेको उनीहरूको भनाइ छ।

आकासे पानी सफा भएकाले सहजै बग्ने भए पनि ढलको पानी फोहोर तथा रासायनिक पदार्थयुक्त हुने भएकाले निकास प्रणालीको क्षमता घट्ने गरेको छ।

‘वर्षाको पानीको सम्भावित बहाव अध्ययन गरेर नाला निर्माण गरिएको हो। तर, सडक विभागले बनाएको नाला र मङ्गलमा जथाभावी ढल जोडिँदा नालाले पानीको बहाव थेग्न सक्दैन र पानी सडकमा जम्ने अवस्था सिर्जना हुन्छ,’ विभागका एक कर्मचारीले भने।

जमिनको पानी सोस्ने क्षमता घट्दै

विज्ञहरूका अनुसार काठमाडौं उपत्यकाको जमिनले पानी सोस्ने क्षमता क्रमशः घट्दै गएको छ। पछिल्लो समय कंक्रिट संरचनाको विस्तारसँगै खुला जमिन घटेकाले वर्षाको पानी जमिनमुनि पुनर्भरण हुन नसकी सतहमै बग्ने गरेको छ। यसले सामान्य वर्षामै सडक जलमग्न हुने अवस्था निम्त्याएको उनीहरूको भनाइ छ।

वैज्ञानिक अध्ययनबिना बागमती, विष्णुमतीलगायत नदीको बहाव क्षेत्र साँघुरो बनाइएकाले पनि समस्या थपिएको विज्ञहरूको तर्क छ। बहाव क्षेत्र साँघुरिँदा नदीले पानीको चाप थेग्न नसकी सडक तथा नदी किनारका बस्तीमा पानी पस्ने गरेको उनीहरू बताउँछन्।

यस्तै, नदीमा वर्षौंदेखि थुप्रिएको बालुवा, गिट्टी, माटो र फोहोरका कारण नदीको सतह उक्लिँदै गएको छ। यसले वर्षा हुनेबित्तिकै नदीमा पानीको सतह बढेर सडकसम्म पुग्ने अवस्था सिर्जना गरेको छ।

बहाव क्षेत्र घटाउँदा बढ्यो जोखिम

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति तथा बागमती सुधार आयोजनाले २०६९ जेठ २५ गते बागमती नदी र सहायक नदीहरूको बहाव क्षेत्र निर्धारण गरेको थियो।

विज्ञहरूका अनुसार उक्त बहाव क्षेत्र वैज्ञानिक अध्ययनभन्दा पनि उपलब्ध जग्गाका आधारमा निर्धारण गरिएको थियो। त्यतिबेलासम्म नदी किनारको ठूलो भूभाग अतिक्रमण भइसकेकाले बाँकी रहेको क्षेत्रलाई नै बहाव क्षेत्र मानिएको थियो।

अध्ययनअनुसार बागमती नदीको सुन्दरीजलदेखि गोकर्ण ब्यारेजसम्म बहाव क्षेत्र ३५.१८ मिटर हुनुपर्नेमा अहिले २० मिटर मात्र छ। गोकर्ण ब्यारेजदेखि मनोहरा दोभानसम्म ४३ मिटर हुनुपर्नेमा ३० मिटर, मनोहरा दोभानदेखि विष्णुमती पुलसम्म ९५.३५ मिटर हुनुपर्नेमा ६० मिटर तथा धोबीखोलादेखि विष्णुमती दोभानसम्म १०० मिटर हुनुपर्नेमा पनि ६० मिटर मात्र रहेको छ।

त्यस्तै, नख्खु खोला दोभानदेखि कटुवाल दहसम्म ११९.६३ मिटर हुनुपर्नेमा हाल ८० मिटर मात्रै बहाव क्षेत्र कायम गरिएको छ। वर्षाको पानी बस्तीबाट सोझै सडकतर्फ मोडिने र प्राकृतिक कुलो तथा खोल्साको निकास अवरुद्ध भएकाले पनि सडकमा पानी जम्ने समस्या बढेको सडक विभागका प्राविधिकहरू बताउँछन्।

विभागका अनुसार तीनकुने, कोटेश्वर बस स्टेसन, माइतीघर, अनामनगर, हनुमानस्थान, मित्रपार्कलगायत क्षेत्र डुबानको उच्च जोखिममा रहेका छन्।

भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई क्षेत्रनजिक रहेको छ। सोमबार काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको थियो। विभागका अनुसार काठमाडौंमा मात्रै सोमबार ५६ मिलिमिटर वर्षा मापन गरिएको छ।

महाशाखाले आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी, बागमती, गण्डकीका तराई क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले ती क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: २९ असार २०८३ २१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App